२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दरबार हाइस्कूलमा विद्यार्थीका लागि सिट क्षमता बढाइयो

२०७७, १६ माघ शुक्रबार ०६:१२

माघ १६, काठमाडौँ । विद्यार्थी भर्ना सङ्ख्या बढेपछि रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय)को कक्षाकोठामा सिट क्षमता बढाइएको छ । नयाँ विद्यार्थी भर्ना गर्न आउने क्रम जारी रहेपछि यस विद्यालयले ५, ६, ७ र ८ कक्षामा विद्यार्थी बस्नका लागि सिट क्षमता बढाएको हो । पुनःनिर्माणपछि उक्त विद्यालयमा प्रतिकक्षा ३६ विद्यार्थीलाई पठनपाठन गराउन सक्ने बनाइएको थियो । हरेक दिन विद्यार्थी आउने क्रम जारी रहेपछि प्रत्येक कक्षामा पुनः छ विद्यार्थी राख्न सक्ने गरी क्षमता विस्तार गरिएको हो । क्षमता विस्तारपछि अहिले प्रत्येक कक्षामा ४२ सम्म विद्यार्थीलाई पठनपाठन गराउन सकिन्छ । नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने यो विद्यालयको भवन विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति भएपछि आकर्षक ढङ्गले पुनःनिर्माण गरिएसँगै नयाँ विद्यार्थी आउने क्रम बढेको हो ।

अहिले भानु माविको कक्षा ५, ६, ७ र ८ मा विद्यार्थी कोटा सङ्ख्या पुगेको छ । कामपा–२७ का वडा सदस्य परिवेशमान बज्राचार्यका अनुसार अब नयाँ भर्ना गर्न आउने विद्यार्थीका लागि उक्त कक्षामा स्थान नै छैन । भवन निर्माण सम्पन्न भएसँगै भानु माध्यमिक विद्यालयमा अहिले ३१२ विद्यार्थी पठनपाठन गर्ने गरेका छन् । विद्यालयमा अघिल्लो शैक्षिक सत्रमा ८० मात्र विद्यार्थी रहेका थिए । “अहिले हरेक दिन नयाँ भर्नाका लागि अभिभावकसहित विद्यार्थी आउने गरेका छन् । यसरी नै आकर्षण बढ्ने हो भने आगामी शैक्षिक सत्रसम्ममा सबै कक्षा भरिनेछन्”, उहाँले भन्नुभयो । भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भए पनि यसको स्वरुप पहिलाकै जस्तो देखिन्छ । नौ रोपनी जग्गामा निर्माण गरिएको विद्यालय भवन चारतले छ । यसमा ६० कक्षाकोठा छन् ।

नेपाल सरकारले उपत्यकाका महत्वपूर्ण प्राकृतिक र सांस्कृतिक सम्पदाको पुनःनिर्माण गर्ने क्रममा पुरानै स्वरूपमा पुनःनिर्माण गरिएको यस ऐतिहासिक विद्यालय भवनको हाताभित्र हाल भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय सञ्चालित छन् । नयाँ भवनमा प्रयोशालासमेतको सुविधा र अङ्ग्रेजी माध्यममा पढाइ हुने गरेको छ । 

शुरुमा निर्माण गर्दा माटो, इँटा, सुर्की र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो । लामो समयसम्म काठमाडौँ महानगरपालिका र पुरातत्व विभागबीच नक्शापासका विषयमा केही मतान्तर भएकाले भूकम्प गएको तीन वर्षपछि मात्रै पुनःनिर्माणको काम शुरु भएको थियोे । भवनभित्र विज्ञान प्रयोगशाला, योगाभ्यास कक्ष, आयुर्वेदिक प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, चमेनागृह, दुई पुस्तकालय र ठूलो बैठककक्षसमेत व्यवस्थितरूपले निर्माण गरिएका छन् । रु ८५ करोड ५९ लाखको लागतमा निर्माण सम्पन्न गरिएको दरबार हाइस्कूलको कक्षाकोठाभित्र प्रयोग हुने टेबल, कुर्सीलगायत सम्पूर्ण भौतिक संरचनासमेत चीन सरकारले नै उपलब्ध गराएको छ ।

गत कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनःनिर्माणसँगै सो विद्यालय भवनको उद्घाटन गरेपछि दरबार हाइस्कूल पुनः सञ्चालनमा आएको हो । तर कोरोना महामारीका कारण हालसम्म भौतिकरूपमा पठनपाठन भने हुनसकेको छैन । नेपालको शैक्षिक क्षेत्रको ऐतिहासिक धरोहर दरबार हाइस्कूल भवन भूकम्पका कारण भत्किएपछि प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ नजिकैको परिसरमा अस्थायी टहरा निर्माण गरी सञ्चालन गरिएको थियो ।

तत्कालीन राणा सरकारले विसं १९१० मा दरबारभित्र रहेका आफ्ना बालबालिकालाई पढाउन खोलिएकाले यसको नाम दरबार हाइस्कूल रहन गएको हो । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायत भ्रमणबाट फर्केपछि विसं १९१० असोज २७ मा नेपालमा पहिलो औपचारिक विद्यालय ‘दरबार हाइस्कूल’ स्थापना गरेका थिए । राजा–माहाराजाका छोराछोरीले मात्रै पढ्न पाउने गरी स्थापना गरिएको यो हाइस्कूलमा अङ्ग्रेजी पढाउन बेलायतबाटै शिक्षक ल्याइएको इतिहासमा उल्लेख छ ।

विसं १९३३ मा रणोद्दीप सिंह प्रधानमन्त्री भएपछि राणाका सेवामा खटिएका कर्मचारीका छोराछोरीले पनि पढ्न पाउने व्यवस्था भएको थियो । विसं १९४२ मा रणोद्दीप सिंहको हत्यापछि वीरशम्शेरले विद्यालयलाई जमलस्थित सेतो दरबारको ढोका नजिक सारेका थिए । विसं १९५७ मा देवशम्शेर प्रधानमन्त्री भएपछि दरबार स्कूलमा सर्वसाधारण जनताले पढ्न पाउने व्यवस्था भएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना