३१ चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

शुन्य लागतमा मात्र कामदार पठाउने म्यानपावरहरु खारेजीको संघारमा

इथिकल रिक्रुटमेन्ट अन्तर्गत मलेसियाका रोजगारदाताको मात्र माग लिएर नेपाली कामदार पठाउने म्यानपावरहरु लामो समयदेखि मलेसिया रोजगार सुचारु नहुँदा बिजनेस-बिहिन छन् । सय संख्याको बाध्यकारी नीतिको कारण नैतिक भर्ना प्रक्रियामा कामदार पठाउन भन्दै बिकसित भएका म्यानपावरहरु वैशाख भित्र मलेसिया रोजगार सूचारु नभए खारेजीको मेसोमा पर्ने जोखिममा छन् ।
२० चैत्र २०८१, बुधबार १०:३४

अनिल अधिकारी । काठमाडौँ । नैतिक भर्ना प्रक्रिया अन्तर्गत नेपाली कामदारसँग कुनै लागत शुल्क नलिने नीति सहित क्रमश: बिकसित भएका बिभिन्न म्यानपावर कम्पनीहरु खारेजीमा पर्ने सम्भावना बढेको छ । इथिकल रिक्रुटमेन्ट अन्तर्गत कामदार पठाउने म्यानपावरहरु नेपाल सरकारको सय संख्या पुर्याउनैपर्ने नीतिको कारण खारेजीको अवस्थामा पुगेका हुन् ।

इथिकल रिक्रुटमेन्ट अन्तर्गत मलेसियाका रोजगारदाताको मात्र माग लिएर नेपाली कामदार पठाउने म्यानपावरहरु लामो समयदेखि मलेसिया रोजगार सुचारु नहुँदा बिजनेस-बिहिन छन् । यी म्यानपावर कम्पनीहरूले क्रमश: आर्थिक समस्याहरूको सामना गर्नुपर्ने अवस्था आएको बताएका छन् । यी म्यानपावरहरुले आरविए (Responsible Business Alliance) ले तय गरेको नीति पालना गर्ने क्रममा अन्य देशको मागमा कामदार पठाएका छैनन् । यस्तै अवस्थामा अब आगामी वैशाखभित्र मलेसिया रोजगार सूचारु नभए यी म्यानपावरले सय संख्या कटाउन नसक्ने अवस्था छ ।

वैदेशिक रोजगार नियमावली (पाँचौ संसोधन)२०७६ मा म्यानपावर नवीकरणको लागि पछिल्ला दुई आर्थिक वर्षमा प्रत्येक वर्ष कम्तीमा एकसय जना श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएको हुनुपर्ने व्यवस्था छ । यस अघि पटक-पटक नियमावलीको त्यो व्यवस्था लागू भईरहेको थिएन तर यो बर्ष फरक अवस्था छ । यसअघिनै बाधाअड्काउ आदेश दिँदा तात्कालिन मन्त्रीपरिषदले ‘अन्तिम पटक’ भनेर सम्वोधन गरेको छ । जसको कारण अबको आर्थिक बर्षमा म्यानपावरहरुले सय संख्या पुर्याउनै पर्ने बाध्यता छ । यहि बाध्यताको चंगुलमा शुन्य लागतमा मात्र कामदार पठाउने भनि खोलिएका म्यानपावरहरु पनि पर्ने भएका हुन् ।

यसअघि यस नियमावलीको पाँचौ संसोधन लागू हुन नपाउँदै कोरोना महामारी सुरु भएको थियो । पछि कोरोना महामारीको कारण देखाएर मन्त्री परिषदको बैठकले वर्षमा एक सय श्रमिक पनि पठाउन नसक्ने म्यानपावरको नवीकरण गर्ने निर्णय गरेको थियो । त्यो निर्णय श्रम गन्तव्य देशमा कोरोनाका कारण रोजगारी बन्द भएसम्मको लागि थियो । गतबर्ष अन्तिम पटकको लागि भन्दै वार्षिक सयभन्दा कम कामदार पठाउने ३१७ म्यानपावरको नवीकरण गरिएको थियो । मन्त्रिपरिषद्को बैठकलेले ‘आर्थिक वर्ष २०७९/८० र ०८०/८१ मा लगातार दुई वर्षसम्म वार्षिक एकसय जना नेपालीलाई पनि वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजत प्राप्त संस्थाको इजाजतपत्र आव ०८१/८२ का लागि नवीकरण गर्न आएमा अन्तिम एकपटकका लागि नवीकरण गरिदिने गरी बाधा अड्काऊ फुकाऊ आदेश जारी गर्ने’ निर्णय गरिएको थियो । बाधा अड्काऊ फुकाऊ आदेश जारी गराउने दौडमा यहि नियमावलीलाई देखाएर २०७६ यता संख्या नपुर्याउने म्यानपावरहरुबाट माथि मन्त्रीसम्मलाई बुझाउनुपर्छ भन्दै पैसा संकलन हुने गरेको विषयमा व्यवसायीहरुबाटै गुनाशो हुँदै आएको अवस्था छ । तर अब भने ‘अन्तिम पटक’को लागि भन्दै गरिएको २०८१ को निर्णयपछि सय संख्याको बाध्यकारी नियमावली कार्यान्वयनमा जाने वा खारेज गर्ने दुई बाटोमा छ । तत्काल उक्त नियमावली खारेज हुने अवस्था नभएका कारण यो बर्ष सय संख्या नपुर्याउने म्यानपावर खारजी मै जाने विषयले व्यवसायी आतंकित छन् ।

आरबिएको आचार-संहिता अनुसार चल्दा शुन्य लागतमा मात्र कामदार पठाउने भनि विकसित भएका केहि म्यानपावरले आपूर्तिकर्ताहरू (suppliers) का लागि न्यूनतम नैतिक र व्यावसायिक मापदण्डहरू मान्नुपर्ने हुन्छ । मापदण्ड पालना गर्ने क्रममा मलेसिया बाहेकका देशबाट शुन्य लागतका मागहरु ल्याउन सहज छैन । नेपाल सरकारको कमजोरीका कारण ‘फ्री भिसा फ्री टिकट’को नीति व्यवहारमा लागू छैन । यस्तै अवस्थामा शुन्य लागतमा मात्र कामदार पठाउने उदेश्यसहित बिकसित भएका म्यानपावरहरुले युएई, कतार, साउदी, कुवेत र बहराइन लगायत स्रोत देशबाट नैतिक अभ्यास गर्ने गरि कामदारको माग पाउँदैनन् । केहि कम्पनीको माग पाएपनि स्वास्थ्य परिक्षण, विमा, कल्याणकारी कोष, सामाजिक सुरक्षा कोषको रकम रोजगारदाताले दिन मान्दैनन् । त्यस्ता रकम नदिँदा श्रमिक आफैले लागत खर्च गर्नुपर्ने हुन्छ र त्यसरी गर्दा अडिटमा प्रभाव पर्ने व्यवसायीहरुको भनाई छ ।

‘मलेसिया बाहेक नेपालमा माग आउने खाडीका राष्ट्रहरुमा शुन्य लागत तथा नैतिक भर्ना प्रक्रिया अन्तर्गत कामदार पठाउने सम्भवना नै छैन’ व्यवसायीको धारणा छ । यसमा सरकारकै कमजोरी रहेको ति व्यवसायी बताउँछन् । ‘सरकारले १० बर्ष अघि फ्री भिसा फ्री टिकटको नीति लागू गरेपनि व्यवहारमा ध्यान नदिँदा अधिकांश डिमाण्डमा कामदारले चर्को लागत तिर्न बाध्यता छ । सरकारको नीति अनुसार व्यवहार भएको भए खाडी राष्ट्रहरुमा समेत यस्तो अभ्यास क्रमश गराउन सकिने अवस्था रहने थियो ।’ ति व्यवसायीको धारणा छ ।

नेपालीहरुको मुख्य श्रम गन्तव्य मलेसियाका केहि बहुराष्ट्रिय रोजगारदाता कम्पनीले नेपालमा केहि म्यानपावरहरूलाई अडिटनै गराएर डिमाण्ड दिने गरेका छन् । त्यस्ता म्यानपावरले आफूलाई नेपालबाट मलेसिया कामदार लैजाँदा पूर्णत: शुन्य लागत नीतिसंगै नैतिक भर्ना अभ्यासलाई क्रमश सुधार्ने अभ्यास गरिरहेका छन् । तर १० महिनादेखि ठप्प मलेसिया रोजगारको कारण मलेसिया रोजगारमै भर पर्ने व्यवसायीहरु मारमा छन् । मलेसिया रोजगारमा भर गर्ने अन्य म्यानपावरहरुले दुबई, कतार, कुवेत र साउदी बाट माग ल्याएर भनेपनि संख्या पुर्याउन सक्ने बिकल्प हुँदा शुन्य लागतमा कामदार पठाउने म्यानपावरहरु भने कमाईसकेको सांख जोगाउने वा भत्काएर अरुले जस्तै अभ्यास सुरु गर्ने भन्ने गम्भीर सोचमा छन् ।

चालु आर्थिक बर्ष सकिन अब तीन महिना मात्र बाँकी छ । मलेसियाले बिदेशी कामदार लैजान गत जेठ १८ गतेदेखि प्रतिबन्ध लगाउँदै आएको छ । जुन प्रतिबन्ध हालसम्म खुलेको छैन । गत मङ्सिरमा मलेसियाको प्लान्टेसन क्षेत्रमा कामदार लैजाने निर्णय गरेता पनि ति रोजगारदाता गैरजिम्मेवार बन्दा नेपालमा नैतिक अभ्यासको प्रक्रियामा रहेका म्यानपावरहरुले उक्त डिमाण्ड पाउन सकेनन् । कामदार भर्तिको नैतिक अभ्यास नहुँदा १२ सय नेपाली कामदारको माग भएको प्रतिष्ठित फेल्डा प्लान्टेसनको डिमाण्डमा नेपाली कामदार रोजगारमा जान सकेनन् । फेल्डाले नैतिक अभ्यास गर्न नखोज्दा जोपायो त्यस्ता म्यानपावरलाई डिमाण्ड बेचेको आरोप लगाइएको छ ।

म्यानपावर कम्पनीले न्यूनतम यति श्रमिक पठाउनुपर्छ भनेर तोक्नु गलत भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको भनाइ छ । संघले यी नीति हटाउन ताकेता गरेपनि हटाउन सकेको छैन । यसअघि संघकै पहलमा बाधा अड्काउ फुकाउको आदेश हुँदै आएको थियो । न्यूनतम यति श्रमिक पठाउनुपर्ने भन्ने व्यवस्थाले म्यानपावरमा गलत प्रतिस्पर्धा चल्ने गरेको व्यवसायीहरु स्वीकार्छन् । कोटा पुर्याउन नसक्ने म्यानपावरले डिमाण्ड किनेर भएपनि संख्या पुर्याउने होडबाजी चल्ने गरेको अवस्था छ । जसको भार विदेश जाने श्रमिकलाईनै पर्ने गरेको छ ।

शुन्य लागत वा न्यून लागतमा कामदार पठाउने नीति लिएर काम गर्ने म्यानपावर व्यवसायीलाई प्रोत्साहन गर्न सरकार तयार छैन । म्यानपावरको अनुगमन र बर्गिकरणमा समेत श्रम मन्त्रालयको ध्यान छैन । बिभागले गत बर्ष फ्री भिसा फ्री टिकेटमा कामदार पठाउने म्यानपावरहरुको विवरण मागेको थियो । कुन उदेश्यले उक्त विवरण मागिएको हो भन्ने आजसम्म खुलेको छैन । पछिल्लो समय केहि म्यानपावरले शुन्य लागतमा मात्र कामदार पठाउने नीति लिएर आफूलाई क्रमश बिकास गर्दा सरकारी पक्षको ध्यान उनीहरुमा नगएको गुनाशो छ । केहि म्यानपावरले नैतिक अभ्यास गर्दै गर्दा राज्यले ध्यान नदिनु, प्रोत्साहन नगर्नु र पुरस्कृत नगर्नुले सम्बन्धित जिम्मेवार पक्षले सुधार खोजिरहेको छैन भन्ने बुझिएको एक व्यवसायीले गुनाशो गरे । पछिल्लो समय हरेक सय नेपाली कामदार मध्ये ४ देखि ६ जनाले शुन्य लागतमै रोजगारमा जान पाईरहेको बताइन्छ । यो विषयको पुष्टि रोजगारमा गएका कामदारहरुले समेत गर्न थालेका छन् । बेथितिको बजारमा यस्तो सकारात्मक कदमलाई क्रमश: वृद्धि गर्न श्रम मन्त्रालयले प्रोत्साहनमा ध्यान दिनुपर्ने सुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदै वीरगन्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु अवधि थपियो शिक्षकहरूले तत्काल शिक्षा ऐन जारी गर्न सरकारसँग माग गरे सहकारी पीडितको आन्दोलनले रत्नपार्क–सुन्धारा क्षेत्रको सवारी आवागमन अस्तव्यस्त टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने सम्भावना औंल्याए विपद्जन्य घटनामा एक वर्षमा ७४५ जनाको मृत्यु सुनको मूल्यमा नयाँ रेकर्ड यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ काठमाडौँ उपत्यकामा बिहानदेखि हल्का वर्षा नेपाली चलचित्र क्षेत्रका लागि २०८१ समग्रमा सुखद वर्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित युरोप रोजगारको मागपत्र प्रमाणीकरण एक महिनाभित्रै सुरु हुने, व्यक्तिगत श्रमस्वीकृतिमा लगाम लगाइने दाउन्नेमा ट्राफिक व्यवस्थापन गर्न डेढ सय बढी सुरक्षाकर्मी परिचालन गृहमन्त्री लेखकले राजावादीको हिंसात्मक प्रदर्शन घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए उत्तरी चीनमा मानिसलाई घरभित्रै बस्न अपिल गरियो, वीरगन्जमा १७ जना बालकको उद्धार विष्णुप्रसाद पौडेलले एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो भने राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी