भदौ १९, ललितपुर । म्यानपावर नवीकरण भएको मितिसम्म धरौटी नराखी कामकाज गर्न उत्प्रेषणको आदेश माग गर्दै मास स्टाफिङ कम्पनी प्रा.लिले उच्च अदालत ललितपुर रिट हालेको छ। म्यानपावर कम्पनीको नवीकरण अवधि २०७७ अषाढ मसान्तसम्म रहेको भन्दै उक्त मितिसम्म पुरानै धरौटी र बैंक ग्यारेन्टी राखेर वैदेशिक रोजगारीमा कामदार पठाउन पाउनुपर्ने सञ्चालक लिलानाथ दाहालले निवेदनपत्रमा माग गरेका छन् ।
श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय र बैदेशिक रोजगार विभागलाई विपक्षी बनाई भदौ १५ गते दायर भएर भएको रिटमा भदौं १७ गते प्रारम्भिक सुनुवाई भएको थियो । अदालतले आगामी भदौ २५ गतेका लागि म्यानपावर व्यवसायी र विपक्षी दुवैलाई छलफलमा बोलाएको दाहालले जानकारी दिए ।
सरकारले म्यानपावर कम्पनीको धरौटी रकम ६ करोडसम्म बढाएपछि उक्त रकम राख्न नसक्ने अवस्थाका कारण कानूनी बाटो रोजेको उनले बताए ।