विदेश पठाइदिने भन्दै २४ लाख भन्दा बढी ठगी गर्ने दम्पती पक्राउ

Posted on: 03 Nov, 2019

कात्तिक १८, काठमाडौँ | विदेश पठाइदिने भनेर ठगी गरेको आरोपमा एक दम्पतीलाई महानगरीय अपराध नियन्त्रण महाशाखाले पक्राउ गरेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ बस्ने  विजय थिङ  र उनकी श्रीमती सजना थिङलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार उनीहरुले बैँकिङ कारोबार ललितपुरमा गरेको पाइएकाले आरोपिलाई थप कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ । वैदेशिक रोजगारका सिलसिलामा कामदार भिसामा आकर्षक तलब पाउने प्रलोभन देखाएर लाओस पठाइदिने भनी उनीहरुले पीडितबाट रु २४ लाख २० हजार ठगी गरेको खुल्न आएको महाशाखाले जनाएको छ ।  

महाशाखा प्रमुख थापाले पीडितलाई लाओस र भारत पुर्याएर अलपत्र पारी उनीहरु फरार भएका थिए । रामेछापका नविनकुमार तामाङसमेत चार जनाले गत असोज ५ गते दिएको जाहेरीका आधारमा महाशाखाको टोलीले उनीहरुलाई यही कात्तिक १५ गते हेटौँडाबाट पक्राउ गरेको थियो । ठगी प्रमाणित भए अधिकतम पाँच वर्ष कैद तथा विगो र जरिवानासमेत हुने व्यवस्था छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!