कात्तिक २५, काठमाडौं । वैदेशिक रोजगार विभागले मंगलबारदेखि पासपोर्टमा टाँस्ने स्टिकरको सट्टा ई-स्टिकर दिन सुरुवात गर्ने भएको छ ।
वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिँदा पासपोर्टमा भौतिक ‘स्टिकर’सट्टा ई-स्टिकर दिन लागिएको विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले जानकारी दिए । यसबाट दलालहरुले नक्कली स्टिकर बनाएर भारतको बाटो सोझासाझा व्यक्तिलाई विदेश पुर्याउने क्रम निरुत्साहित हुने भुसालले बताए ।
अब श्रम स्वीकृतिका लागि आवेदन गर्नेहरुले आफ्नो मोबाइल नम्बर सही भर्नुपर्ने र इमेल ठेगाना तथा पासवर्ड याद गर्नुपर्ने उनको भनाइ छ । ई-स्टिकरबाट पासपोर्ट फोहोर पनि नहुने भएको छ । अहिले श्रम इजाजतका स्टिकरले कामदरको पासपोर्ट फोहोर हुने गरेकोले नयाँ व्यवस्था गरिएको उनले बताए ।
'वर्षौंअघि जनरल साधारण श्रमिकमा विदेश गएर अहिले म्यानेजर भएकाहरुले पनि जमानाको स्टिकर देखाएर हिड्नुपर्ने बाध्यता हट्नेछ,' उनले भने,'स्टिकर छपाइमा सरकारको लाखौं रुपैयाँ खर्च हुने अवस्था पनि अन्य हुनेछ ।'
अब कामदारले जतिबेला चाह्यो, उतिबेला नै आफ्नो इमेलबाट स्टिकरको प्रिन्ट निकाल्न सक्ने व्यवस्था गरिएको भुसालले बताए । श्रम स्वीकृतिका लागि एकपटक पासपोर्ट देखाएपछि आफ्नै मोबाइलमा श्रम स्वीकृतिको जानकारी र इमेलमा श्रम स्वीकृतिको स्टिकर आउनेछ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!