पुष २, काठमाडौँ | दलालमार्फत अवैध बाटो हुँदै अमेरिका पुगेका पाँच नेपालीलाई अमेरिकाले नेपाल फिर्ता गरेको छ । अमेरिका पुगेका उनीहरुलाई लामो समय अमेरिकाको अध्यागमनले हिरासतमा राखेको थियो । अमेरिकी अदालतले नेपाली युवाहरुलाई गैर-आप्रवासी ठहर गरेपछि जहाज सहित अमेरिकाले नेपाली युवाहरुलाई नेपाल ‘डिपोर्ट’ गरेको हो ।
डिपोर्ट गरिएका ती नेपालीहरुलाई बोकेर बुधबार अमेरिकादेखि चार्टर्ड बिमान काठमाडौं आयो । जसमा थप तीन जना पाकिस्तानी नागरिक समेत थिए । उक्त चार्टर्ड विमान काठमाडौँमा नेपाली युवालाई छाडेर पाकिस्तान उडेको थियो । यसरी काठमाडौँमा डिपोर्ट गरिएका नेपालीहरुमा रूकुम स्यालापाखा-९ का नरेन्द्र रेउले, प्रमोदकुमार पुन मगर, बाग्लुङ धम्जाका देवेन्द्रबहादुर क्षेत्री, दाङ घोराहीका अभिश्वर बुढामगर र नवलपरासी कावासोतीका अर्जुन पौडेल क्षेत्री रहेका छन् ।
उनीहरुलाई विमानमा ल्याउने क्रममा हत्कडी लगाइएको थियो । काठमाडौं उत्रेपछि मात्र उक्त हत्कडी खोलिएको थियो ।

Photo Credit: setopati