पुस ४, काठमाण्डौ । वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्म कुमार भूसालले श्रमिकको पासपोर्ट जफत गर्ने म्यानपावर कम्पनीको व्यवसाय रोक्ने चेतावनी दिएका छन् । पछिल्लो समय म्यानपावर कम्पनीले श्रमिकसंग पैसा माग्ने र नदिए पासपोर्ट नै नदिने प्रवृति देखिएको भन्दै त्यस्ता कम्पनीलाई कानुनी दायरामा ल्याएर कारवाही गरिने बताएका छन् ।

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले वैदेशिक रोजगार विभाग तथा बोर्डको कार्य सञ्चालन प्रभावकारिता सम्बन्धी गरेको कार्यक्रममा महानिर्देशक भूसालले श्रमिकबाट पासपोर्ट लिएर पैसा नदिएसम्म विदेश पठाउन्न भन्ने म्यानपावरको व्यवसाय रोक्ने चेतावनी दिएका हुन् । विभागले डण्डा लिएर हिँड्दैमा व्यवसायीहरु नसुध्रने र त्यसका लागि सबै मिलेर अघि बढ्नुपर्छ भुसालले भने ''यो निक्कै ठूलो समस्या रहेको छ, समस्यामा परेका व्यक्तिहरुले विभागमा जानकारी गराएमा उनीहरुलाई सहयोग गर्न विभाग तयार छ।''
विभागले पछिल्लो तीन महिनामै ३७ वटा म्यानपावरमा अनुगमन गरेको भुसालले बताए । वैदेशिक रोजगार सुधार गर्न विभाग एक्लैले नसक्ने भन्दै भुसालले सुधारका लागि स्टेक होल्डर पनि जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न विभागले एकीकृत वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (एफइएमआईएस) प्रणाली विकास गरेको उनले बताए । विभागले एफइएमआइएसमार्फत अनलाइनबाट नै मागपत्र स्वीकृत गर्ने तयारी पनि गरिरहेको उनले जानकारी दिए । हाल विदेशस्थित नेपाली नियोगले मागपत्र प्रमाणीकरण गरेपछि पूर्व स्वीकृतिका लागि म्यानपावरका प्रतिनिधि फाइल बोकेर श्रम कार्यलय जानुपर्ने अवस्था छ ।