मनोज पराजुली । माघ २०, काठमाडौं । व्यक्तिगत प्रयासमा वैदेशिक रोजगारीमा जाने नेपाली महिलाहरुको पहिलो रोजाइमा कुवेत पर्ने गरेको पाइएको छ । वैदेशिक रोजगार विभागले सार्वजानिक गरेको आर्थिक वर्ष २०७५/७६ को प्रगति प्रतिवेदनमा अनुसार गत वर्ष सबैभन्दा धेरै महिला कुवेत गएका हुन् ।

वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृतिका मुख्य गन्तव्यहरुमा कतार, साउदी अरबिया, यूएई, मलेसिया रहेका छन् । तर महिलाको हकमा भने त्यस विपरित प्रमुख गन्तव्य कुवेत रहेको छ । गतवर्ष व्यक्तिगत श्रम स्वीकृति लिने कुल १ लाख १५ हजार ३९८ मध्ये २७.६ प्रतिशत अर्थात ३१ हजार ८२० महिला रहेका छन् । पुन: श्रम स्वीकृति लिनेमा महिलाहरुको संख्या कुल श्रम स्वीकृति लिनेकै हाराहारीमा अर्थात् ४ प्रतिशत देखिन्छ, कुल १५ लाख ८७ हजार ६५४ पटक पुन : श्रम स्वीकृति लिएकोमा महिलाको संख्या ६४ हजार ५०७ रहेको छ ।

कुवेतमा हालसम्म संस्थागत श्रम स्वीकृतिमा ५ हजार १५१ महिला गएकोमा व्यक्तिगत रूपमा जानेको संख्या २० हजार २८७ रहेको छ । नेपाली महिलाको सुरक्षाका हिसाबले चुनौती देखिएका देशमा संस्थागत भन्दा व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या धेरै देखिएको छ, जुन देश गएपनि महिलाहरु घरेलु कामदार वा केयर गिभरको रुपमा गएको देखिन्छ । गत वर्षको वैदेशिक रोजगार बोर्डको प्रतिवेदन अनुसार पनि सबै भन्दा बढी महिलाको मृत्यु हुने देश कुवेतमा परेको थियो जहाँ ५ जना, युएईमा ४ जना महिलाको मृत्यु भएको थियो ।
देशगत हिसाबले व्यक्तिगत श्रम स्वीकृति लिनेहरूमा महिलाको संख्या उल्लेख्य देखिएको छ । कुबेतमा घरेलु कामदारमा जाने नेपाली महिलाहरूको संख्यालाई छोड्ने हो भने जर्मन, डेनमार्क, माल्टा, माल्दिभ्समा श्रम स्वीकृतिमा जाने संख्या धेरै रहेका छन् । स्वीडेनमा व्यक्तिगत तवरले श्रम स्वीकृतिमा जाने महिला मात्र रहेका छन् भने कुवेत, डेनमार्क, जर्मनी र इजरायलमा कुल व्याक्तिगत श्रम स्वीकृति लिनेमा महिला ८० प्रतिशत भन्दा बढी रहेको देखिन्छ । व्यक्तिगत श्रम स्वीकृति लिने नेपाली महिलाहरूको जिल्लागत विवरणको तथ्यांक विश्लेषण गर्दा ५ वटा जिल्ला झापा, मोरङ, सुनसरी, चितवन र सिन्धुपाल्चोक क्रमश श्रम स्वीकृति लिनेमा अगाडी रहेका छन् । यि मध्ये ५० प्रतिशत महिला झापाका रहेका छन् ।

वैदेशिक रोजगारीमा जाने महिलाहरुको कुल संख्याको विश्लेषण गर्दा केहि पहाडबाट बसाइ सरेर मिश्रित समुदायको बसाइ भएका तराइका जिल्लाहरु बाहेक वागमती प्रदेशका जिलाहरुको नै बाहुल्यता रहेको पाइएको छ । संस्थागत तवरले श्रम स्वीकृति लिने कुल १ लाख ३२ हजार ९९५ महिला मध्ये ९२.३ प्रतिशत त केवल १० वटा जिल्लाले नै ओगट्छ । जसमध्ये काठमाडौं र मकवानपुर जिल्लाबाट १५/१५ प्रतिशत, झापा १७.३४, सिन्धुपाल्चोकका १३.९४ प्रतिशत रहेको छ ।
सरकारले सीपयुक्त जनशक्तिलाई प्राथमिकता दिँदै आएपनि विदेश जाने आधिकांश महिला नै सीप र दक्षताका हिसाबले कमजोर रहेको पाइएको छ । वैदेशिक रोजगारीमा जानेमध्ये पुरुषको तुलनामा महिला श्रमिक सीप, दक्षताका हिसाबले कमजोर रहेको पाइएको हो । वैदेशिक रोजगारीमा गएका महिलामध्ये ५९ प्रतिशत अदक्ष श्रमिक रहेका छन् ।

कुल महिलाको ५८.८४ प्रतिशत महिला कुनै सीप र दक्षताबिना नै वैदेशिक रोजगारीमा जाने गरेको उल्लेख छ । प्रतिवेदनमा वैदेशिक रोजगारीमा जानेमध्ये उच्च दक्षतायुक्त सीप भएका महिलाको संख्या ०.०६ प्रतिशत अर्थात ६१ जनामात्र रहेको पाइएको छ । यसैगरी उच्च दक्षतायुक्त सीप भएका पुरुषको संख्या ०.०५ प्रतिशत अर्थात ७८७ रहेको पाइएको छ । बिगत ३ वर्षमा पेशाविद्को रूपमा श्रम स्वीकृति लिएका गएका महिलाको हिस्सा ०.३० प्रतिशत अर्थात २९४ हुदा सोही पेशामा जाने पुरुषको संख्या ०.११ प्रतिशत अर्थात १ हजार ७४५ रहेको छ । संख्याको हिसाबले उच्च दक्षतायुक्त र पेशागत रूपमा विदेश जाने महिलाको तुलनामा पुरुषको संख्या धेरै रहेको भएपनि समग्र प्रतिशतमा महिला अगाडी देखिएका छन् ।