फागुन २३, काठमाडौँ | मलेसियामा विरामी भएका दुई जना नेपालीलाई एनआरएनए मलेसियाले जनही एक-एक हजार रिङ्गगिट सहयोग गरेको छ | बैदेशिक रोजगारीको क्रममा मलेसियामा विरामी परेर अस्पतालमा थलिएका नवलपरासी जिल्ला सरावल गाउँपालिका ३ पटनीका बैजनाथ चौधरी र डडेलधुराका लोकबहादुर बिष्टलाई एनआरएनए मलेसियाका अध्यक्ष हरि भट्टराईले सहयोग गरेका हुन् |
उनले नआरएनए मलेसियाको अध्यक्ष भएपछि कामदारहरुका लागि भन्दै ५० हजार रिङ्गगिटको कल्याणकारी कोष बनाएका थिए | उक्त कोषबाट उनीहरुलाई पहिलो चरणमा सहयोग गरिएको जनाइएको छ | चौधरी विगत सात वर्ष देखि रोजगारीको लागि मलेसियामा छन |
आफू कामगर्ने कम्पनीमा उचित पारिश्रमिक नपाएपछि उनी भागेर अन्य कम्पनीमा काम गर्न गएका थिए | उच्च रक्तचापको कारण बेहोस भइ उनी १ महिनादेखि क्वालालम्पुरस्थित युनिभर्सिटी मलाया अस्पतालमा उपचार गरिरहेका छन |
त्यस्तै सोही अस्पतालमै उपचाररत रहेका बिष्ट ६ वर्ष देखि मलेसियामा रोजगारी गरिरहेका छन | घर आउन कम्पनीले नदिएपछि उनी अर्को कम्पनीमा भागेर गएका थिए | बिष्टलाई बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको थियो |
उनको खुट्टा भाच्चिएको छ | दुबै जनालाई नेपाली दूतावास र एनआरएनले स्वदेश फिर्ताको लागि पहल गरिरहेका छन |