फागुन २७, काठमाडौँ | वैदेशिक रोजगारमा पठाउने भन्दै चर्को रकम अशुली गर्ने ललितपुरको महालक्ष्मीस्थान चोकमा रहेको साउण्डलाइन्स रिक्रुटमेण्ट म्यानपावरमा बैदेशिक रोजगार बिभागले छापा हानेको छ ।
बहराइनमा कुक पदमा ४५ हजार तलब पाउने बिज्ञापन देखेपछि बैतडीका केशवदत्त जोशीले साउण्डलाइन्स रिक्रुटमेण्ट प्रा.लि.मा आवेदन दिएका थिए । विज्ञापनमा हवाई टिकट र लागत सबै रोजगारदाता कम्पनीले बेहोर्ने कुरा उल्लेख गरिएको भए पनि म्यानपावरका कर्मचारीले ७५ हजार मागेपछि पिडित जोशीले म्यानपावर विरुद्ध वैदेशिक रोजगार बिभागमा उजुरी दिएका थिए । जोशीले विभागका महानिर्देशक कुमार प्रसाद दाहालको मोबाइलमा सिधा सम्पर्क गरेर आफूलाई म्यानपावरले चर्को लागत रकम माग गरेको भन्दै गुनासो सुनाएपछि विभागका महानिर्देशकले विभागमा आउन भनेका थिए ।
जोशीले विभागका अधिकृत तीर्थराज कट्टेलको साथमा म्यानपावर पुगेर छापा हान्ने काममा सहयोग गरेका थिए । विभागको टोलीको साथमा म्यानपावर पुगेका जोशीले म्यानपावरमा पुगेर कर्मचारी विकेश प्रजापतिलाई ३० हजार रुपैयाँ बुझाएका थिए । लगत्तै वैदेशिक रोजगार विभागको टोलीले नगदसहित म्यानपावरका कर्मचारी विकेश प्रजापतिलाई पैसा सहित समात्न सफल भएको थियो ।
विभागको टोलीले म्यानपावरमा छापा हानेर म्यानपावरका केहि कागजात जफत गरेको छ । म्यानपावरबाट जफत भएको नगद विभागले पिडित जोशीलाई फिर्ता गर्ने जनाएको छ । साथै विभागले म्यानपावर संचालकलाई बुधबार विभागमा आउन पत्र काटेको छ ।
वैदेशिक रोजगारका लागि मलेसिया जान शुन्य र कतार, साउदी, युएई, कुवेत, बहराइन र ओमान जाँदा बढीमा १० हजार लागत लिन पाउने सरकारी नियम छ, तर व्यवसायीहरुले वैदेशिक रोजगारमा पठाउने क्रममा चर्को शुल्क अशुली गर्ने गरेको आम गुनाशो छ ।