चैत २, काठमाण्डौ | बैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै व्यवसाय सञ्चालन गरिरहेका उद्यमिहरुले पुरस्कार पाउने भएका छन् | विदेशबाट फर्किएर स्वदेशमै व्यवसाय गरिरहेका उद्यमीहरुलाई उनीहरुले दिएको योगदानको कदर स्वरूप श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुरस्कार दिन लागेको हो |
श्रमिक भिसामा विदेश गई कम्तिमा एक वर्ष काम गरी फर्किएर व्यवसाय गरेकाहरुले उक्त पुरस्कारको लागि आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ | मन्त्रालका अनुसार चैत २३ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ |'विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६’ अनुसार पुरस्कार दिन लागिएको हो | आवेदनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको रोजगार समन्वय तथा सूचना शाखामा दर्ता गराउन सकिने छ त्यस्तै मन्त्रालयको वेबसाइटमा गएर आवेदनका ढाँचा डाउनलोड गरि इमेलमा पठाउन सकिनेछ |
आवेदनका लागि नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, श्रम स्वीकृतिको प्रतिलिपि, भिसा सहितको पासपोर्टको प्रतिलिपि चाहिने छ | यस्तै व्यवसाय दर्ता र नवीकरण प्रमाणपत्रको प्रतिलिपि, कर दर्ता प्रमाणको प्रतिलिपि, आर्थिक वर्ष २०७५/७६ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि र यसअघि मन्त्रालयबाट पुरस्कार प्राप्त नगरेको स्वघोषणा पनि हुनुपर्ने मन्त्रालयले जनाएको छ |