चैत्र २९, काठमाडौँ । नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा मध्यपूर्व तथा खाडी देशहरूमा कार्यरत ९ नेपाली राजदूतहरुले आफ्नो १ महिनाको तलब जम्मा गर्ने निर्णय गरेका छन् ।
यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालका अनुसार कोरोना भाइरसका कारण विश्व नै आक्रान्त बनेको अवस्थामा देश र देशवासीको जीवनरक्षाका लागि आफ्नो दायित्व सम्झेर नेपाल सरकारद्वारा स्थापित कोषमा यूएई, इजरायल, इजिप्ट, पाकिस्तान, बहराइन, कतार, ओमान, कुवेत र साउदी अरेबियामा कार्यरत ९ नेपाली राजदूतहरुले आफ्नो एक महिना बराबरको तलब जम्मा गर्ने निर्णय शनिबार गरेका हुन् ।
नेपाल सरकारद्वारा प्रमाणीकृत र सहप्रमाणीकृत गरेर यूएईमा कृष्णप्रसाद ढकाल, ओमानमा शर्मिला पराजुली ढकाल, इजरायलमा डा.अन्जान शाक्य, इजिप्टमा झविन्द्रप्रसाद अर्याल, कतारमा नारथनाथ भारद्वाज, कुवेतमा दुर्गाप्रसाद भण्डारी, पाकिस्तानमा सेवा लम्साल, बहराइनमा पदम सुन्दास र साउदी अरेबियामा प्रा.डा. महेन्द्रप्रसादसिंह राजपुत राजदूतका रूपमा कार्यरत छन् ।