बैशाख ३, काठमाडौं । कोभिड-१९ परीक्षण गर्न लागिएको भन्दै कतारी अधिकारीहरूले सयौं आप्रवासी श्रमिकहरूलाई आफ्नो नियन्त्रणमा लिएको र त्यसपश्चात कैयौँलाई स्वेच्छाचारी ढङ्गमा निष्कासन गरिएको पाइएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।
फाल्गुन २९ र ३० मा कतार प्रहरीले गिरफ्तार गरेको २० जना नेपाली श्रमिकहरूसँग यो संस्थाले अन्तर्वार्ता लिएको थियो । प्रहरीले प्राय यी सबैलाई कोभिड-१९ को परीक्षणका लागि लगिन लागेको तथा परीक्षण सकिएपछि उनीहरूलाई आ-आफ्नो आवासमा फर्काइदिने भनेको थियो । तर उनीहरूलाई हिरासत केन्द्रहरूमा लगियो र धेरै दिनसम्म त्यहाँ राखेर पछि नेपाल पठाइयो।
''हामीले कुराकानी गरेका कसैले पनि उनीहरूलाई किन यस्तो व्यवहार गरिएको थियो भन्ने कुराको स्पष्टीकरण पाएका छैनन् । न त उनीहरूले आफ्नो हिरासत र निष्कासनका विरुद्ध कुनै उजुरी नै गर्न सकेका थिए । अमानवीय हिरासतको अवस्थामा निकै दिन बिताएपछि धेरैजसोलाई नेपाल जाने विमानमा राख्नु अघि उनीहरूलाई आफ्नो सर सामान ल्याउने समेत अवसर दिइएको थिएन'' एम्नेस्टी इन्टरनेसनलका ग्लोबल इस्युज्का निर्देशक स्टिभ ककबर्नले भने ।
कतारी अधिकारीहरूले यो महामारीलाई आप्रवासी श्रमिकविरुद्ध थप दुर्व्यवहार गर्ने अवसरको रूपमा प्रयोग गरिनु दुःखद् छ । यी दुर्व्यवहारमा परेका धेरैजसोले उनीहरूमा कोरोना सङ्क्रमणको परीक्षण गर्न लागिएको भन्दै प्रहरीले धोका दिएको महसुस गरेका छन् । कोभिड-१९ मानिसलाई स्वेच्छाचरी रूपमा नियन्त्रणमा लिने कुनै बहाना होइन।
''यी व्यक्तिहरूलाई जसरी दुर्व्यवहार गरिएको छ सोबापत अधिकारीहरूले उनीहरूलाई परिपूरण उपलब्ध गराउनुपर्दछ र यदि उनीहरूले चाहेको खण्डमा उनीहरूलाई कतार फर्कन दिनु पर्दछ । साथै उनीहरू कार्यररत रहेका रोजगारदाता कम्पनीहरूले उनीहरूले पाउनुपर्ने पारिश्रमिक लगायतका अन्य रोजगार सुविधाहरू यथाशीघ्र भुक्तानी गर्नुपर्दछ ।''
फाल्गनु २९ गते बिहीबार र ३० गते शुक्रबार सयौँ आप्रवासी श्रमिकहरूलाई प्रहरीले घेरा हालेर नियन्त्रणमा लियो र दोहाको औद्योगिक क्षेत्र, बारवा शहर र लेबर शहरसमेत विभिन्न भागहरूमा उनीहरूलाई हिरासतमा राख्यो । आफ्नो आवासबाट बाहिर सब्जी खाद्यान्न लगायतका सरसामान किनमेल गर्न गएको बेला उनीहरूलाई गिरफ्तार गरिएको थियो ।
केही श्रमिकहरूले प्रहरीले उनीहरूलाई खासगरी कोभिड-१९ परीक्षणको लागि लान लागेको र पछि उनीहरूको आवासमै फर्काइदिने भनी भनेको बताए । अन्य श्रमिकहरूले भने प्रहरीले अरेबिक भाषामा कुरा गरेको र आफूले "कोरोना" भन्ने शब्द मात्र बुझेको बताए ।
एकजनाले एम्नेस्टी इन्टरनेसनललाई भने: ''हामीलाई भाइरस परीक्षणका लागि रोकिएको भनियो । प्रहरीले डाक्टर आएर भाइरस जाँच्ने भनी बतायो । तर उनीहरूले हामीलाई ढाँटेका रहेछन् ।''
त्यसपछि ती श्रमिकहरूलाई बसमा कोचियो र औद्योगिक क्षेत्रको हिरासत स्थलमा लगियो जहाँ उनीहरूको कागजात र मोबाइल फोन जफत गरियो र उनीहरूको फोटो खिच्नुका साथै औँठाको छाप पनि लिइयो । श्रमिकहरूलाई विभिन्न देशका सयौँ अन्य मानिसहरूसँगै अमानवीय अवस्थामा हिरासतमा राखिएको थियो । उनीहरूलाई खाट र ओड्ने ओछ्याउने नभएको एकदमै भिडभाडयुक्त कोठाहरूमा पर्याप्त पानी र खाना समेत नदिएर राखिएको थियो ।
एकजना नेपालीले एम्नेस्टी इन्टरनेसनललाई भने ''जेल मानिसले खचाखच भरिएको थियो । हामीलाई दिनमा जम्मा एउटा रोटि दिइएको थियो जुन अपुग हुन्थ्यो । सबै मानिसलाई भुईंमा राखिएको हुनथ्यो र खानालाई प्लास्टिकमा राखिएको हुन्थ्यो । भिडभाडका कारण कतिपयले त खानेकुरा थुत्न समेत सक्दैनथे ।''
अन्तर्वार्ता लिइएका २० जनामा तीन जनाले मात्रै हिरासतमा रहेको बेला उनीहरूको शरीरको तापक्रम मापन गरिएको बताए ।
हिरासतमा रहेको बेलामा हामीले अन्तर्वार्ता लिएको श्रमिकहरूलाई देशबाट निष्कासन गरिन लागेको बताइयो । केहीले त एयरपोर्ट लगिँदै गर्दा मात्रै आफूलाई निष्कासन गर्न लागेको थाह पाए । कतिलाई चैत्र २ मा निष्कासन गरिएको थियो भने अन्यलाई चैत्र ६ मा निष्कासन गरिएको थियो । कसैले पनि आफूलाई किन हिरासतमा राखिएको वा किन निष्कासन गरेको भनेर कुनै उजुरीसम्म गर्न पाएनन् । कतिपयलाई आफ्नो सरसामान प्याकिङ्ग गर्नका लागि केही मिनेटको समय दिइएको थियो भने अन्यलाई त आफ्नो कुनै सामान ल्याउने अवसर समेत दिइएन । एकजनाले भने ''मलाई हतकडी लगाएर अपराधीलाई जस्तो व्यवहार गरियो । मलाई मेरो क्याम्पमा सामान लिनका लागि लगिएको थियो तर हतकडी लगाएको अवस्थामा मैले कसरी मेरो सरसामान जम्मा गरेर प्याकिङ्ग गर्नु ?''
सबैजसो श्रमिकहरूले हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा विमान चढ्नुअघि र विमानबाट उत्रिएपछि काठमाडौँमा उनीहरूको शरीरको तापक्रम लिइएको बताए ।
प्रहरीले उनीहरूलाई यदि कुनै गुनासो गरे वा त्यो अवस्थालाई चुनौती दिने कुनै कार्य गरेमा उनीहरूलाई फौजदारी अभियोग लगाइदिने तथा लामो समयसम्म हिरासतमा राख्ने धम्की दिएको कुरा कतिपयले बताए ।
अन्तर्वार्ता लिइएका २० जनामध्ये दुई जनालाई मात्र आफूले काम गरेको कम्पनीले सम्पर्क गरी बाँकी रहेको पारिश्रमिक चुक्ता गर्ने जनाएको छ । एकजना श्रमिकले भने आफूलाई कम्पनीले पैसा दिएको तर हिरासतमा रहेको बेला प्रहरीले "सुरक्षाका लागि" भन्दै लगेको र पछि फिर्ता नगरेको बताए । अर्का श्रमिकले भने आफूले काम गरेको कम्पनीले पैसा पठाउनका लागि बैँक खाता आवश्यक पर्ने भन्दै उनलाई एउटा बैंकमा खाता खोल्नु भनी भनेको बताए ।
सबै श्रमिकहरूले आफूले पाउने पारिश्रमिक र काम छाड्दा पाउने अन्य सुबिधाहरू नलिइकन कतार छाडेका थिए । यो उनीहरूको लागि एउटा चिन्ताजनक कुरा हो किनभने कतिपयले कतारमा काम पाउनका लागि ठूलो रकम खर्चिएका हुन्छन् र चर्को ब्याज तिरिरहेका पनि हुन सक्छन् ।
एकजनाले भने: “अहिले कठिन छ । मेरा बालबालिकासँग लगाउने लुगा छैन । उनीहरूलाई खुवाउन अझ कठिन छ ।” अर्का एकजनाले आफूलाई ऋणदाताले धम्काइरहेको र आफ्ना पाँच जना बालबालिकाहरूको लालन पालनका लागि सङ्घर्ष गरिरहेको बताए ।
एम्नेस्टी इन्टरनेसनलले प्राप्त गरेको प्रमाणको प्रतिक्रियामा कतार सरकारले कोभिड-१९ प्रतिकार्यको हिस्साअन्तर्गत औद्योगिक क्षेत्रमा निरीक्षण गर्ने क्रममा "अधिकारीहरूले गैरकानुनी र अनैतिक गतिविधिमा संलग्न व्यक्तिहरू फेला पारेको " बतायो । "यस्ता गतिविधिहरूमा मानव स्वास्थ्यलाई गम्भीर रूपमा खतरामा पार्न सक्ने खतरनाक खाद्य वस्तु लगायतका निषेधित र प्रतिबन्धित वस्तुहरूको उत्पादन र बेचबिखन आदि रहेको" पनि उसले बतायो ।
यद्यपि एम्नेस्टी इन्टरनेसनलले अन्तर्वार्ता गरेमध्यका १८ जनाले उनीहरूलाई लगाइएको कुनै पनि आरोप वा अभियोगका बारेमा आफू जानकार नभएको बताए । दुई जनाले भने अरेबिक भाषा बोल्ने उनीहरूसँगै हिरासतमा रहेका अन्य श्रमिकहरूले उनीहरूलाई रक्सी आपूर्ति गरेको आरोप लगाएको भनी भनेको कुरा एम्नेस्टीलाई बताए । न प्रहरी न अन्य कुनै अधिकारीले उनीहरूलाई यस्तो आरोपका बारेमा जानकारी गराएका थिए र यी श्रमिकले एम्नेस्टी इन्टरनेसनलसँग यो आरोपका बारेमा पूर्णतया इन्कार गरे ।
एम्नेस्टी इन्टरनेसलले यी श्रमिकहरूलाई दिइएको कतारी भाषामा लेखिएको कागजातहरूलाई समीक्षा गर्यो जसले उनीहरूलाई फौजदारी अपराधको आरोप लगाएको कुनै सङ्केत गर्दैनन् । साथै अन्तर्वार्ता लिइएका यी कुनै पनि व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय मानवअधिकार कानुनले प्रत्याभूत गरेअनुसार उनीहरूलाई हिरासतमा राखिएको र अन्ततोगत्वा निष्कासन गरिएको विषयको वैधानिकतालाई चुनौती गर्ने अवसरसमेत उपलब्ध गराइएको थिएन ।
हिरासतमा लिइएको र निष्कासन गर्ने धम्की दिइएको कुनै पनि आप्रवासी श्रमिकलाई यसो गर्नाको कारण खुलाउन र उनीहरूलाई त्यसको प्रतिवाद गर्ने अवसर दिन एम्नेस्टी इन्टरनेसनल कतारी अधिकारीहरूलाई आह्वान गर्दछ । कतारले अधिकार उल्लङ्घन भोगेका श्रमिकहरूलाई प्रभावकारी उपचार र परिपूरण पनि सुनिश्चत गर्नुपर्दछ । साथै कतारी अधिकारीहरूले कोभिड-१९ को सङ्कटका क्रममा आप्रवासी श्रमिकहरूको स्वास्थ्यको अधिकारलाई पूर्ण रूपमा संरक्षण गरेको सुनिश्चत गर्नु पर्दछ ।