वैशाख १२, काठमाडौं | ठूलो संख्यामा नेपाली कामदार रहेका नेपाली कामदारका गन्तव्य मुलुकहरुमध्ये मलेसिया र यूएईले कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण लगाएको प्रतिवन्ध केही खुकुलो बनाउने बताएका छन् । मलेसियाले ३८ दिन अगाडि मार्च १६ तारिकका दिन लगाएको आवागमन प्रतिवन्धलाई केही निश्चित शर्तसहित खुकुलो पार्ने तयारी गरिरहेको बताएको छ ।
बिहीबारसम्म मलेसियामा ५ हजार ६ सय ३ जना कोारोना संक्रमित देखिएका छन् भने त्यहाँ मृत्यु हुनेको संख्या ९५ पुगेको छ । बिहीबार ३७ औं दिनसम्म आवागमन प्रतिवन्धको सरकारी आदेश प्रभावकारी रुपमा कार्यान्वयन भएको भन्दै त्यहाँका स्वास्थ्यकर्मीहरुले विदेशबाट आयातित नभएमा मलेसिया भित्ररहेको कोारोना संक्रमणलाई ट्याकल गरी नियन्त्रण गर्न सकिने भएकोले आवागमन प्रतिवन्धको आदेशलाई खुकुलो पार्नुपर्ने बताएको दि स्टारलगायत त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आर्थिक गतिविधि सक्रिय पार्न आवागमन खुकुलो पार्नु अनिवार्य भएको बताइएको छ । त्यहाँका स्वास्थ्य अधिकारीहरुले मलेसिया प्रवेश गर्ने मलेसियाली नागरिकबाहेक विदेशी नागरिकहरुमाथि आवागमन प्रतिवन्धसहित शैक्षिक र सामाजिक गतिविधि माथिको प्रतिवन्ध पनि यथावत राख्दै अन्य क्षेत्रमा खुकुलो गर्न उपयुक्त हुने सुझाव सरकारलाई दिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
आवागमन प्रतिवन्धको आदेश खुकुलो बनाउने वा यथावत राख्ने भन्ने विषयमा अन्तिम निर्णयभने मलेसियाको मन्त्रिपरिषद्ले गर्ने छ । त्यसको घोषणा प्रधानमन्त्रीले शुक्रबार अवेरसम्ममा गर्ने बताइएको छ । मलेसियालले यसअघि नै विश्वस्तरमा नै ग्लोब्सको कमी रहेको भन्दै आफ्ना नियमित आयातकर्ताका लागि ग्लोब्स उत्पादन शुरु गरेको थियो ।
मलेसियामा हाल साढे पाँच लाख नेपालीहरु वैधानिक रुपमा काम गरिरहेका छन् । मलेसियाले नेपाली कामदारहरु समेत कार्यरत आर्थिक क्षेत्रमा काम शुरु गरेमा त्यहाँ रहेका नेपालीहरुलाई पनि सहज हुने आंकलन गरिएको छ ।
उता नेपाली कामदारहरुको अर्को आकर्षक गतव्य यूएईले रमदान नजिक आइरहेको भन्दै दुवई मलजस्ता ठूलाठूला व्यापारिक केन्द्रहरु र मेट्रो रेल सञ्चालन गर्ने तयारी गरेको छ । ती क्षेत्रमा स्थानीयस्तरमा स्यानिटाइजेशन गरेर सरसफाईको क्रम तीव्र बनाइएको यूएईका स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
यूएईमा बिहीबारसम्म ८ हजार ७ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यहाँ ५६ जनाको मृत्यु भएको छ । यूएईले निरन्तर रुपमा आफ्ना कामदार फिर्ता लैजान विभिन्न देशलाई आग्रह गरिरहेको छ । उक्त आग्रह अनुसार हाल पाकिस्तानले मात्र विमान चार्टर गरी आफ्ना कामदार फर्काउन शुरु गरेको छ । यूएईमा ४ लाख बढी नेपाली रहेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले यूएईको सेवा क्षेत्र प्रभावित भएको विषयमा मन्त्रालयलाई जानकारी आएको बताउँदै आएका छन् ।