वैशाख १६, काठमाडौँ | नेपालमा बिदामा आएका र कोरियाको भिसा लागेर पनि जान नपाएका नेपाली बोकेर नेपाल एयरलाइन्स कोरियाको राजधानी सोल उड्ने भएको छ ।
केही दिनभित्र नेपाल एयरलाइन्सको वाइडबडी जहाज कोरिया जान लागेको हो । गैरआवासीय नेपाली संघ कोरियाको चार्टर्डमा यो जहाज कोरिया जान लागेको नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।
मन्त्रीपरिषद् बैठकले कोरिया जान अड्किएका नेपालीलाई लकडाउनकै अवधिमा समेत जान दिने गरी निर्णय गरेको थयो ।
यससँगै उनीहरुलाई कोरिया जाने बाटो खुलेको हो । अब ए ३३० जहाज कोरियाको सोलस्थित इङचोन विमानस्थलमा उड्नेछ । नेपालमा विदेशबाट मानिस आउने भने प्रतिवन्ध छ ।
कोरियाको भिसा रहेका बिदामा आएका नेपाली कामदारलाई विमान चार्टर गरी कोरिया पठाउन दिने वैशाख १४ गते बसेको मन्त्रीस्तरीय बैठकले निर्णय भएको श्रम मन्त्रालयले जनाएको छ । यसअघि १८ वैशाखका लागि उडान तय भएपनि जाने यात्रुको स्वास्थ्य चेकजाँचको प्रक्रिया नसकिने भएकाले उडान केही दिन पर सारिएको हो ।
रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत बिदामा आएका इच्छुक कामदारलाई विमान चार्टर गरी पठाउन लागिएको मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले बताए । त्यसका लागि इच्छुक कामदारले वैदेशिक रोजगार विभागको इपीएस कोरिया शाखामा सम्पर्क राख्न अनुरोध गरेको छ ।
नेपालमा व्यवसायिक उडानमा प्रतिवन्ध लागेको १ महिना पुगिसकेको छ । पछिल्लो समय २ जेठसम्म यस्तो प्रतिवन्ध कायम छ ।
