वैशाख २४, काठमाडौं | संसदीय समितिले विदेशमा रहेका नागरिकलाई स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको कानून, न्याय तथा मानवअधिकार समितिले विदेशमा रहेका नेपालीलाई ल्याउने पूर्वतयारी गर्न सरकारलाई निर्देश गरेको हो ।
वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका र कोरोना भाइरसको कारण लकडाउनमा विदेशमा अलपत्र परेका एवं रोजगारी गुमाएर विदेशी भूमिमा अलपत्र नेपाली नागरिकलाई ल्याउनका लागि तत्काल पूर्वतयारी थाल्नुपर्ने समितिको भनाई छ । यस्तै, वैदेशिक रोजगारीमा गएका नागरिकको यकिन संख्या समेत पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिले विदेशमा रहेका नागरिकको व्यवस्थापनको तयारी गर्न र दीर्घकालीन योजना तयार पार्न निर्देशन दिएको हो । त्यस्तै, समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निजी अस्पतालमा उपचारको व्यवस्था गराउन ध्याकर्षण गराएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले भने भारत तथा खाडी मुलुकमा आर्थिक गतिविधि र निर्माण फेरि सञ्चालन हुन थालेकाले वैदेशिक रोजगारीमा गएका नेपालीलाई ल्याउनुपर्ने अवस्था नआउने विश्वास व्यक्त गरेका थिए ।