वैशाख २४, काठमाडौं । वैदेशिक रोजगारीमा रहेका करिब एक लाख २७ हजार नेपाली नागरिक तत्काल उद्धार गर्नुपर्ने अवस्थामा रहेको वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा कार्यकारी निर्देशक श्रेष्ठले विभिन्न मुलुकमा रहेका करिब एक लाख २७ हजार नेपाली तत्काल उद्धार गर्नुपर्ने अवस्थामा रहेको बताएका हुन् ।
मलेसिया, कतार, साउदी अरब, बहरान, ओमान, कुवेतलगायतमा अप्ठेरो अवस्थामा रहेका नेपाली नागरिकलाई नेपाल ल्याउनका लागि पूर्वतयारी भइरहेको निर्देशक श्रेष्ठले जानकारी दिएका छन् । वोर्डले विदेशस्थित कुटनीतिक नियोग मार्फत विवरण संकलन गरि अध्ययन प्रतिवेदन तयार गरेर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पेश उनले साझा सबाललाई जानकारी दिए ।
कोभिड भाइरसको कारणले विभिन्न मुलुकमा रोजगारी गुमाएर फर्किने नेपालीको संख्या चार लाख ७ हजारको हाराहारीमा रहेको आँकलन गरिएको उनले बताए । लकडाउन खुल्ने तथा अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आए लगत्तै उनीहरु नेपाल फर्कन तयार रहेका उनले बताए ।
अन्तर्राष्ट्रिय हवाई उडान जेठ १८ गतेसम्म बन्द
विदेशबाट तत्काल उद्धार गरेर नेपाल ल्याउनुपर्ने भएपनि उनीहरु तत्काल नेपाल आउनसक्ने अवस्था देखिएको छैन । यसैविच सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान र सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो । यस्तै अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका आवागमनमा लगाएको रोकलाई मे ३१ अर्थात जेठ १८ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।