जेठ २, काठमाडौँ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल 'त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल' जारी लकडाउनको कारण सुनसान छ । कोरोना भाइरस विश्वभरी नै महामारीको रुपमा फैलिएपछि त्रासका कारण नेपाल सरकारले सबै देशबाट आउने नेपाली तथा विदेसीलाई आगमनमा रोक लगाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनसान बनेको हो । सामान्य अवस्थामा दैनिक २० देखि २५ हजारसम्म कारोबार गर्ने विमानस्थल परिसरका पसलहरु पनि खुलेका छैनन् ।
शुक्रबार बेलुका भने बिमानस्थलमा केहीबेर चहलपहल देखियो । दुई सयभन्दा बढी विदेश उड्ने यात्रू र उनीहरुको आफन्तहरुको बाक्लो उपश्थिति थियो ।
यो दृश्य शुक्रबार बिमानस्थलको हो । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको ए–३३० जहाजले आज जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान भरेको छ ।

उक्त चार्टर्ड विमानमा जारी लकडाउनको कारण नेपालमा रोकिएका केही जापानिज नागरिक तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थीहरु रहेका छन् । निगमको वाइडबडी जहाज आज राति साढे ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नारिता उडेको छ । आज राति उडान भरेको उक्त विमानले करिव साढे ७ घण्टाको उडानपछि जापानको नारितामा रहेको टर्मिनल २ मा अवतरण गर्नेछ ।
निगमको नारिता चार्टर्ड उडान दोस्रोपटक हो । यसअघि चैत २८ गते निगमले नारितामा चार्टर्ड उडान गरेको थियो । निगमले यो महिनामात्रै जापानमा तीन वटा चार्टर्ड उडान गर्दैछ । आगामी मे १७ र २२ मा पनि नारितमा चार्डड उडान गर्दैछ ।
आज उडेको चार्टर्ड जहाज भोली जापानबाट रित्तै काठमाडौँ फिर्ता हुनेछ । साथै आगामी थप दुईवटै चार्टर्ड उडान पनि नेपाल फर्कँदा रित्तै हुनेछन् ।

आज जापान उडेको निगमको वाइडबडी जहाज काठमाडौँको सुमेघ टूर एण्ड ट्राभल्स प्रालिले चार्टर्ड उडानको अनुमति लिएको निगमले जनाएको छ । उडानको लागि ट्राभल्सले यात्रुहरुबाट प्रति यात्रु १ लाख ४४ हजारदेखि १ लाख ६० हजारसम्म हवाई भाडा लिएको यात्रूहरुले जानकारी दिएका छन् ।
नेपाल एयरलाइन्सले जापानको नारितामा गत फागुन १९ गतेदेखि सिधा उडान सेवा सुरू गरेको थियो । कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिएपछि उक्त गन्तव्यको उडान हाललाई स्थगन भएको छ ।
कोरोना महामारीको कारण यतिखेर बिभिन्न देशमा नेपालीहरु बिमानस्थल खुल्ने आशामा छन् । सरकारले आन्तरिक तथा वाह्य हवाई उडानहरु बन्द गरेको कारण समस्यामा परेका नेपालीहरु समेत नेपाल आउन पाएका छैनन | बिभिन्न देशमा रोकिएका झन्डै ५ लाख नेपालीहरुले आफूहरु नेपाल आउन चाहेको इच्छा प्रकट गरेका छन् । सरकारले तत्काल ल्याउनुपर्ने नेपालीहरुको शंख्या २ लाखको हाराहारीमा भएको अनुमान गरेको छ । प्राथमिकताको आधारमा नेपालीहरुलाई नेपाल ल्याई व्यवस्थापन गर्ने सरकारले बताएको भएपनि कुनै निर्णय लिन सकेको छैन ।