जेठ ५, काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी गएका २० हजार नेपालीहरु स्वदेश फर्कन तयार रहेका छन् । रातोपाटी अनलाइनको ‘द भ्यु’ कार्यक्रममा बोल्दै साउदीका लागि नेपाली राजदुत डा. महेन्द्र प्रसाद सिंह राजपुतले साउदीमा समस्यामा परेका २० हजारसम्म नेपाली स्वदेश फर्कन चाहेकोले तत्काल स्वदेश फर्काउने व्यवस्था गर्न नेपाल सरकालाई अनुरोध गरेका छन् ।
पछिल्लो २४/२५ दिनमा दुतावासमा १० हजार भन्दा बढी गुनासा आएका छन् हामीले एक/एक गरि हेरेका छौं, उनले भने ‘दर्ता भएका गुनासा मध्ये ५० प्रतिशत गुनासा स्वदेश फर्कन माग गरिएका छन् ।’
रोजगारी गुमाएका, अवैधानिक रुपमा बसेका, गर्भवती लगायत कोरोना महामारीका कारण रोजगारी गुमाएकाहरुको गुनासाका आधारमा प्राथमिकताक्रम तयार गरेको बताउंदै उनले भने ‘नेपालमा दैनिक रिपोर्ट पठाएका छौं तर हालसम्म निर्णय आएको छैन ।’
सरकारले चाहेमा तत्काल फर्काउनुपर्ने ५ हजार जनाको लिष्ट दिन सक्छौं तर सरकारले निर्णय नगरेसम्म केहि गर्न सकिएन, धेरै संवेदनशील कुरा छ, छिट्टै ध्यान जाओस् ।