जेठ २९, काठमाडौँ । कुवेतमा अलपत्र परेकामध्ये १ सय ६१ जना नेपाली स्वदेश आइपुगेका छन् । बुधबार नै आउने भनिएपनि उडान रद्द भएपछि बिहिबार बिहान पहिलो चरणमा १ सय ६१ महिला स्वदेश आइपुगेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार पहिलो फ्लाइटबाट बिहान साढे ११ : ३० बजे उनीहरु नेपाल आइपुगेका हुन् । कुवेतको जजिरा एयरलायन्सको जहाजमार्फत उनीहरु आएका हुन् । कुवेतबाट फर्कन चाहेका ७ हजार ९९१ मध्ये दुई हजार ९९१ जनाले फर्कने अनुमति प्राप्त गरेका छन् । यसअघी आममाफीमा सहभागी भएका र घरफिर्ती केन्द्रमा रहेका केही गरी २ हजार ९९१ जनाको सूची दूतावासले परराष्ट्रलाई बुझाई सकेको छ । सोहि मध्ये १६१ जनालाई कुवेत सरकारले पहिलो चरणमा नेपालसम्म ल्याइदिएको हो ।

नेपाल सरकारले तय गरेको मापदण्डअनुसार कुवेतले नेपाल फर्कनेहरुको कोरोना जाँच पनि आफैंले गरिदिएको छ । गत अप्रिल २६ देखि ३० सम्म कुवेतले दिएको चार दिनको आममाफीको समयमा झण्डै तीन हजार नेपाली सहभागी भएका थिए । उनीहरु कुवेत सरकारले नै निर्माण गरेको सेल्टरमा बसिरहेका छन् जसका लागि खाने बस्ने सबै व्यवस्था कुवेत सरकारले गरेको छ ।