जेठ २९, काठमाडौँ । अस्ट्रेलियास्थित नेपाली दुतावासले समस्यामा परेर स्वदेश फर्कन चाहनेहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । राजदूतावासले एक सूचना जारी गर्दै अष्ट्रेलिया, न्यूजिल्याण्ड तथा प्रशान्त क्षेत्रमा रहनुभएका र नेपाल फर्कने फाराम भरेका नेपाली नागरिकहरुको लागि नेपाल फर्कन चार्टड उडानको व्यवस्था गरिएको जानकारी दिएको हो ।
नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत “कोभिड-१९ विश्वव्यापी सङ्क्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरूलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” जारी भइसकेको छ । सोहि अनुसार यस राजदूतावासले यही मिति आगामी असार ३ (१७ जुन २०२०) बुधबारका दिन पहिलो र मिति असार ८ (२२ जुन २०२०) सोमबारका दिन दोस्रो चार्टड उडानको व्यवस्था गरेको दुतावासले जनाएको छ । तथापि यात्रुको उपलब्धता तथा अन्य प्रतिकुल कारणहरुबाट उक्त उडान तालिकामा परिवर्तन हुन सक्नेछ र ८५ % अकुपेन्सी भएमा मात्र चार्टड उडान हुने दुतावासले जनाएको छ ।
चार्टड उडान नेपाल वायुसेवा निगमको जहाजबाट हुनेछ । हवाइभाडा र उडान भर्ने शहरसम्बन्धी जानकारी यथाशीध्र उपलब्ध गराइने दुतावासले जनाएको छ ।
यस राजदूतावासको सूचनाअनुसार ०२ जुन २०२० सम्म नेपाल फर्कने फाराम भर्नुभएका नेपाली नागरिकहरुमध्ये नेपाल सरकारले तोकेको प्राथमिकताका आधारमा प्रथम र दोस्रो सूचीमा पर्नुभएका व्यक्तिहरुलार्इ टिकट खरिद प्रक्रियाका सम्बन्धमा यस राजदूतावासबाट छिट्टै सम्पर्क गरिने जनाइको छ ।
नेपाल फर्कने यात्रुहरुले पिसिआर वा आरडीटि टेष्ट नेगेटिभ रहेको प्रमाण पेश गर्नु पर्नेछ । (यस्तो परीक्षण दूतावासले जानकारी गराएपश्चात मात्र गर्नुहुन समेत अनुरोध गरिन्छ) यात्रुहरु नेपाल पुगेपछि नेपाल सरकारको नियमानुसार क्वारेन्टिनमा बस्नुपर्नेछ ।