योगेन्द्र योगी। जेठ ३०, दोहा । कोरना भाइरस (कोविड्-१९) महामारीका कारण अन्तराष्ट्रिय हवाई उडानहरु स्थगन भएकोले साउदी अरबबाट स्वदेश फर्कनका लागि पर्खिरहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई नेपाल फर्कन चार्टर्ड उडान संचालन हुने भन्दै साउदीस्थित नेपाली दूतावासले सूचना जारी गरेको छ ।
साउदीबाट जुन १५ देखि १८, १९ र २४ मा उडान हुने दूताबासले जनाएको छ । तत्कालको लागि साउदीको रियाद, दमाम, र जेद्धा शहरबाट चार्टर उडान मार्फद स्वदेश फर्कन सकिने दूताबासले जनाएको छ ।
दूताबासका अनुसार साउदीबाट एकतर्फी भाडादर नेपाली ७० हजारदेखि ९३ हजारसम्म तोकेको छ । नेपाल एरलाइन्स र हिमाल एरलाइन्सबाट नेपाली स्वदेश फर्काउने तयारी गरेको छ ।
दूतावासका अनुसार तत्काल २५ सय भन्दा बढि नेपालीलाई स्वदेश फर्काउनु पर्ने अवस्था छ भने १० हजारभन्दा बढीले स्वदेश फर्कन पाऊ भन्दै फारम भनेको दूताबासले जनाएको छ । साउदीमा करिब तीन लाख बीस हजार नेपाली कामदार कार्यरत रहेका छन् ।

