जेठ ३०, काठमाडौं । कुवेतले थप १ सय १४९ जना नेपाली महिला कामदारलाई नेपाल ल्याइदिएको छ । कुवेत सरकारले जजिरा एयरलाइन्सको जे ९ १५४१ नम्बरको उडानमार्फत ७ जना बालबालिकासहित १ सय ४९ जना नेपाली महिला कामदारलाई शुक्रबार बिहान नेपाल ल्याइदिएको हो ।
उक्त जहाज शुक्रबार बिहान ११ बजेर २८ मिनेट जाँदा त्रभुवन विमानस्थलमा अवतरण भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । कुवेतले यसअघि हिजो २ सय ९९ जनालाई आफ्नै खर्चमा नेपाल ल्याइदिएको थियो ।
गैरकानुनी रुपमा कुवेत बसेर आममाफी पाएका नेपाली महिला कामदारलाई कुवेत सरकारले नेपाल पठाएको हो । कुवेतले नेपालीहरुको लागि गएको अप्रिल २६ देखि ३० सम्मको चार दिन आममाफीको समय दिएको थियो । यो चार दिनमा आममाफीमा सहभागी झण्डै तीन हजार जनालाई कुवेतले आफ्नै जहाजमार्फत नेपाल ल्याइदिन लागेको हो ।
कुवेतले आममाफीमा सहभागी भएकालाई आफ्नै खर्चमा सेल्टरमा राखेको थियो । खाद्यन्न सहित आवश्यक कुराको व्यवस्था पनि कुवेत सरकारले नै गरेको छ । आममाफीमा सहभागी र केही घरफिर्ती केन्द्रमा रहेका २९९१ जना रहेका छन् ।
कुवेतबाट प्राथमिकतामा परेका नेपालीलाई ल्याउनका लागि अर्को उडान असार २ गते, ५ गते, ७ गते र १० गते हुने तय भएको छ ।