योगेन्द्र योगी | असार ७, दोहा | कोरोना संक्रमणको असहज परिस्थितिका कारण एवं साउदी अरबमा आफ्नो करार अवधि पूरा गरी २४७ जना नेपाली स्वदेश फर्किएका छन् ।
साउदीको राजधानी रियादबाट नेपाल एयरलाइन्सको उडान नं २१९२ बाट एक नावालक सहित २४७ जना नेपालीहरु स्वदेश फर्किएको साउदीस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
यसै उडानबाट विगत ६ महिना देखि नेपाली दूतावासको सेल्टरमा रहेका ४ जना महिला सहित १२ जना महिला पनि स्वदेश फर्किएका छन् ।
साउदी अरबका लागि नेपाली राजदूत डा: महेन्द्र प्रसाद सिंह राजपूत आफै बिमानस्थल पुगेर स्वदेश फर्किन लागेका नेपालीहरुलाई बिदाई गरेका थिए भने दूतावासका अन्य कर्मचारीहरू पनि विदाई गर्न बिमानस्थल पुगेका थिए ।
वैदेशिक रोजगारीबाट फर्केकाहरुले आफ्नो घरपरिवार, समाज र समग्र मुलुकका लागि आसा र भरोसा जगाउदै मुलुकको विकासमा महत्वपूर्ण योगदान गर्न पनि स्वदेश फर्कन लागेकाहरुलाई राजदूत राजपूतले सुझाव दिएका थिए ।
बिहीबार भएको पहिलो चार्टर उडानबाट १५३ जना नेपाली स्वदेश फर्केका थिए । दूतावासका अनुसार तत्काल २५ सय भन्दा बढि नेपालीलाई स्वदेश फर्काउनु पर्ने अवस्था छ ।
रियादस्थित नेपाली दूताबास र जेद्दास्थित महावाणिज्य दूतावासबाट १० हजारभन्दा बढीले स्वदेश फर्कन पाऊ भन्दै फारम भरेको दूताबासले जनाएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!