योगेन्द्र योगी | असार १२, दोहा | कुवेतबाट अहिलेसम्म १२ उडानमार्फत १८ सय ६९ जना स्वदेश फर्किसकेको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
दूतावासका अनुसार अहिलेसम्म नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले एकएक उडानमार्फत ३०४ जना र कुवेतको जजिरा एअरको १० उडान गरी जम्मा १८ सय ६९ जना स्वदेश फर्किसकेका छन् ।
जजिरा एअरमार्फत कुवेत सरकारले भिसा उल्लङ्घन गर्नेका लागि घोषणा गरेको आममाफी कार्यक्रममा सहभागी भएकालाई १० वटा उडानमार्फत स्वदेश फर्काइएको दूतावासले जनाएको छ ।आममाफीमा सहभागी करिव तीन हजार रहेको र बाँकीलाई पनि कुवेत सरकारले क्रमश: सबैलाई स्वदेश पठाई रहेको छ ।

आममाफी बाहेक कोरोनाका कारण समस्यामा परेका नेपालीलाई दुईवटा चार्टर्ड उडानमार्फत स्वदेश पठाएको दूतावासले जनाएको छ ।
स्वदेश फर्कनैपर्ने अवस्थामा रहेका गर्भवती, कोरोना बाहेकका गम्भीर रोगका बिरामी, काजकिरियाका लागि फर्कन पर्नेहरु, अपांगता भएकालगायतका व्यक्तिलाई प्राथमिकतामा राखेर स्वदेश पठाएको दूतावासले जनाएको छ ।
समस्यामा परेका नेपालीको स्वदेश फिर्तीको लागि सहजीकरण र बिदाई गर्न कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी आफैं विमानस्थल पुगेका थिए । आज पनि आममाफी पाएका एक सय ५० जना नेपाली फर्कदै छन् ।
