साउन १०, काठमाडौँ । साउदी सरकारले हालसम्म ४९८ जना नेपालीहरुलाई बहिर्गमन भीसा जारी गरेको छ । साउदी स्थित नेपाली दुतावासले एक सूचना जारी गर्दै बहिर्गमन भीसा जारी भएकाहरुले आगामी अगष्ट ५, ६, ७ र ८ तारिकमा नेपाल एयरलाइन्स र हिमालय एयरलाईन्सले साउदी अरबको रियाद र दमामबाट गर्ने उडानहरुबाट नेपाल जाने तयारी गर्न अनुरोध गरेको छ।
नेपाली राजदूतावास समक्ष बहिर्गमन भीसाको लागि २०७६ पौष, माघ र फागुनमा दिएका निवेदनहरु मध्ये केही व्यक्तिहरुको बहिर्गमन भीसा प्राप्त भएको दुतावासले जनाएको छ । यस मध्ये १ देखि ४२१ सम्मको सूचि यसअघि नै प्रकाशन गरिसकिएको दुतावासले जनाएको छ ।
साउदी अरेबियाका विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नवनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसा सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि साउदी सरकारलाई दुतावासले अनुरोध गरेकोमा साउदी सरकारले वहिर्गमन भीसा प्रदान गर्ने प्रकृयाको थालनी गरेको छ।
वहिर्गमन भीसाका लागि राजदूतावासले विभिन्न समयमा सम्बन्धित नेपालीहरुबाट संकलन गरेका विवरण केही समय अगाडि साउदी सरकारलाई उपलव्ध गराएको भएता पनि कोरोना संक्रमणका कारण अवरूद्ध यो प्रकृया हाल सुचारू भएको छ। साथै, वहिर्गमन भीसाका लागि आवेदन दिन बांकी रहेका अकमा नभएका, हुरुव लागेका वा नवीकरण नभएकाहरुका लागि पछि सूचना जारी गरी आवेदन लिइने व्यहोरा समेत अनुरोध गरिन्छ । यस विषयमा नेपाली राजदूतावासको फेसबुक पेज नियमित हेर्नुहुन दुतावासले अनुरोध गरेको छ ।


