जापानले माग्यो नेपाली कामदार : मासिक तलब २ लाखबढी,कति चाहिन्छ योग्यता ?

Posted on: 09 Nov, 2020

कार्तिक २४, काठमाडौँ | नेपाली विद्यार्थी तथा श्रमिकहरुका लागि रोजगारीको आकर्षक गन्तव्य बनेको जापानमा विभिन्न क्षेत्रका लागि  २३ जना कामदारको माग गरेको छ | जिट् अन्तर्गत जापानको विभिन्न शहरस्थित विभिन्न कम्पनीमा रोजगारीको माग भएको हो |

योग्यता पुगेका नेपाली औद्योगिक प्रशिक्षार्थी तथा अभ्यासार्थी कामदार माग भई आएको हुँदा इच्छुक नेपाली प्रशिक्षार्थीले आजको मितिबाट १५ दिनभित्र कम्पनीको कार्यालयमा निवेदन दिन भनिएको छ | त्यसैगरी रोजगारीका लागि प्रशिक्षार्थीले (सेवा शुल्क, यातायात, भिषा तथा प्रबर्द्धन खर्च समेतको) कुल खर्च गरी १० हजार तिर्नुपर्ने हुन्छ ।

रोजगारीको लागि १४ जना महिला र ९ जना पुरुष गरी २३ जना कामदारको माग गरेको कम्पनीले जनाएको छ | उक्त रोजगारीमा जाने कामदारको मासिक तलब न्यूनतम एक लाख ५८ हजारदेखि २ लाख १२ हजार हुनेछ । साथै, रोजगारीको करार अवधि ३ वर्ष तोकेको छ |

त्यस्तै हप्तामा ५ दिन प्रतिदिन ८ घण्टा मात्रै काम गर्नुपर्ने छ | कम्पनीका अनुसार ओभरटाइमको सुविधा, वार्षिक विदाका साथै खाना तथा बस्नको सुविधा रहेको छ | रोजगारीका लागि प्रशिक्षार्थीको उमेर १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्ने, सरकारको उद्योग मन्त्रालय अन्तर्गतको निकायहरूमा तीन वर्ष पूरा दर्ता भई सञ्चालन भइरहेको औद्योगिक प्रतिष्ठान, उद्योग व्यवसाय, कलकारखाना, कृषि सहकारी, सामुदायिक संघ संस्था, होटल, पर्यटन व्यवसाय अर्थात् सेवा तथा वस्तु उत्पादन व्यवसाय जस्ता क्षेत्रमा कम्तिमा २ वर्ष काम गरेको अनुभव हुनुपर्ने उल्लेख छ |

त्यस्तै कृषि सम्बन्धि कामका लागि सम्बन्धित उद्यम उद्योग वा सम्बन्धित विषयको सहकारी वा सामुदायिक संस्थामा कम्तिमा दुई वर्ष अनुभव हुनुपर्ने, जापानमा प्रशिक्षर्थी कामदारको रुपमा जान खोजेकोमा नेपालमै उद्योग, प्रतिष्ठान, संस्था वा निकायहरुमा काम गरिरहेको हुनुपर्ने र जापानी भाषा तथा संस्कृति सम्बन्धि तालिम लिएको हुनुपर्ने कम्पनीले जनाएको छ |

डिमाण्ड हेर्न यहाँ क्लिक गर्नुहोस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!