मलेसियाको एक बहुराष्ट्रिय कम्पनी विवादमा, नेपाली लगायतका श्रमिकले गरे मुद्दा दायर

Posted on: 31 May, 2021

जेठ १७, काठमाडौं । अमेरिकी टायर निर्माता कम्पनी गुडईयरको मलेसिया स्थित कम्पनी विदेशी श्रमिकको अवैधानिक रुपमा तलव कटौती, राहदानी कव्जा लगायतका विषयमा विवादमा परेको छ । सो कम्पनीले ठूलो परिमाणमा श्रमिकको तलव भुक्तानी समेत गर्न बाँकी रहेको समाचार सार्वजनिक भएको छ ।

बेलायती सञ्चार संस्था रोयटर्सका अनुसार सो कम्पनीलाई ओभरटाइम वापतको रकम श्रमिकलाई भुक्तानी नगरेको, अदालतमा मुद्दा हाल्ने श्रमिकलाई धम्की दिइएको, तलव कटौती लगायतका विषयमा मुद्दा परेको छ । रोयटर्ससँगको कुराकानीका क्रममा सो कम्पनीमा कार्यरत तथा पहिले काम गरेका ६ जना श्रमिकले कम्पनीले गलत रुपमा आफूहरुको तलव कटौती गरेको, धेरै समय काम गर्न बाध्य पारिएको तथा राहदानीमा पूर्ण रुपमा अधिकारबाट वञ्चित गरिएको जनाएका छन् । अदालत श्रोतले पनि यसको पुष्टि गरेको समाचारमा जनाइएको छ ।

श्रम विभागले पनि सो कम्पनीलाई सन् २०२० मा श्रमिकलाई कानूनले तोकेभन्दा बढी समय काममा लगाएको तथा विदेशी श्रमिकलाई थोरै ज्याला दिएको विषयमा कारवाही गरेको पुष्टि गरेको छ । सो कम्पनीमा काम गरेका एक श्रमिकले आफ्नो राहदानी गैरकानूनी रुपमा कम्पनीले कव्जामा राखेको बताएका छन् । उनले आफूले काम गरेको ८ बर्षपश्चात मात्र राहदानी फिर्ता पाएको पनि बताएको रोयटर्सको समाचारमा उल्लेख छ ।

सो कम्पनी विरुद्द सन् २०१९ मा दुईवटा तथा सन् २०२० मा एक गरी तीनवटा मुद्दा अदालतमा परेका छन् । सो क्रममा १ सय ८५ श्रमिकले कम्पनी विरुद्द मुद्दा दायर गरेको जनाइएको छ । उनीहरुले आफूहरुले मलेसियाको श्रम कानून अनुसार पाउनु पर्ने सुविधा नपाएको भन्दै मुद्दा हालेका थिए ।

श्रमिकहरुको सो मुद्दामा स्थानीय अदालतले श्रमिकको पक्षमा फैसला गरेको पनि जनाइएको छ । अदालतको वेभसाइटमा प्रकाशित फैसलामा पनि विदेशी श्रमिकले स्थानीय मलेसियाली श्रमिकले पाउने सरह नै सुविधा पाउने उल्लेख गरिएको समाचारमा जनाइएको छ । कम्पनीलाई श्रमिकको कटौति गरिएको तथा उपलव्ध नगराईएको रकम तत्काल भुक्तानी गर्न अदालतले आदेश दिएको श्रमिकहरुका तर्फबाट मुद्दा लडेका अधिवक्ताले बताएका छन् । अदालतमा प्रमाणका रुपमा पेश गरिएको पेस्लीपमा कतिपय श्रमिकले मासिक २ सय २९ घण्टासम्म अतिरिक्त समय काम गरेका थिए । मलेसियाको श्रम कानून अनुसार भनें मासिक १ सय ४ घण्टा भन्दा बढी अतिरिक्त समय काममा लगाउन पाईंदैन ।

सो कम्पनीले आफूहरुलाई ५० लाख रिंगिट बरावर ठगि गरेको श्रमिकहरुले दावी गरेको श्रमिकका तर्फबाट मुद्दा लडिरहेका अधिवक्ता चन्द्रा सेगरन राजेन्द्रनले बताएको रोयटर्सले लेखेको छ । सो कम्पनीमा नेपाल, म्यानमार तथा भारतका श्रमिक कार्यरत छन् ।

विश्वकै ठूलो मध्येको एक टायर उत्पादक कम्पनी गुडईयरले भनें अदालतको दुवै निर्णय विरुद्द उच्च अदालतमा पुनरावेदन गरेको छ । उच्च अदालतले आगामी जुलाई २६ मा निर्णय सुनाउने अपेक्षा गरिएको छ । यसैगरी श्रमिकले हालेको तेश्रो मुद्दाको फैसला आगामी साता हुने अपेक्षा गरिएको छ ।

गुडईयरले मानव अधिकार रक्षाका सन्दर्भमा कम्पनीको बलियो नीति तथा अभ्यास रहेको बताएको छ । रोयटर्सलाई ईमेलमा कुनै पनि देशमा रहेका कम्पनीले मानव अधिकार हनन गरे नगरेको विषयलाई गम्भीरतापूर्वक हेरिने भनेर कम्पनीले जवाफ दिएको समाचारमा उल्लेख छ ।

मुद्दा हालेका मध्येका एक शरण कुमार राईले श्रमिकहरुको डफ्फा अनुसार कम्पनीको नियम फरक हुने बताएका छन् । उनले सो कम्पनीमा सन् २०१२ देखि सन् २०२० सम्म काम गरेका थिए । श्रमिकहरुले पहिलो मुद्दा सन् २०१९ को जुलाईमा हालेका थिए । त्यसपछि कम्पनीले मुद्दा हाल्ने श्रमिकहरुलाई आफूले मुद्दा फिर्ता लिने भनेर जवर्जस्ती सही गराएको थियो । त्यस विरुद्दमा प्रहरीमा उजुरी हालिएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!