अब अनलाइनबाटै वैदेशिक रोजगार बोर्डमा आर्थिक सहयोग माग्न सकिने

Posted on: 24 Mar, 2022

चैत १०, काठमाडौँ । अब अनलाइन प्रणालीमार्फत स्थानीय तहबाटै वैदेशिक रोजगार बोर्डमा आर्थिक सहयोग लिन सकिने भएको छ ।

वैदेशिक रोजगार नियमावली, २०६४ मा व्यवस्था भएअनुसार श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका कामदारको करार अवधि वा करार अवधि समाप्त भएको एक वर्षभित्र कुनै कारणले मृत्यु, अंगभंग वा गम्भीर बिरामी भएमा घटना भएको मितिले एक वर्षभित्र बोर्डबाट नियमानुसारको आर्थिक सहायता वा क्षतिपूर्ति पीडित वा पीडितको परिवारले माग्न सक्नेछ ।

यसका लागि काठमाडौंमै आउनुपर्ने व्यवस्थालाई सरल बनाउन अनलाइन प्रणालीमार्फत सम्पूर्ण स्थानीय निकायमा सेवा दिन लागिएको हो ।

अब पीडितले आर्थिक सहयोगका लागि आफ्नै स्थानीय तहमार्फत अनलाइन माध्यमबाट निवेदन दिन सकिने भएको छ । यो व्यवस्थालाई थप सरल र सहज बनाउने उद्देश्यले बोर्डको सचिवालयबाट अनलाइन सफ्टवेयर प्रणालीको विकास गरी कार्यान्वयनमा ल्याउन लागेको छ ।

यसका लागि नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको फागुन २९ को निर्णयबाट वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणाली कार्यविधि, २०७८ स्वीकृत भई कार्यान्वयनमा आइसकेको छ ।

सोही कार्यविधि अनुसार स्थानीय तहहरूले बोर्डमा आफ्नो युजरनेम र पासवर्ड बनाई सेवाग्राहीलाई सेवा दिन सक्नेछन् । यसका लागि चैत मसान्तभित्र सबै स्थानीय निकायलाई सम्पर्क गर्न बोर्डले आग्रह गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!