दुर्गा प्रसाईंले बोली फेरे–‘सक्नेले ऋण तिर्नुस्,नसक्नेले पर्दैन’

Posted on: 14 Mar, 2023

फागुन ३०, काठमाडौँ | नागरिक बचाउ अभियान र बैंक तथा लघुवित्त पीडितलाई सडकमा उतार्ने आन्दोलनको नतृत्व गरिरहेका व्यवसायी दुर्गा प्रसाईंले आफ्नै बोली सच्याएका छन्।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक प्रसाईंले ऋण तिर्न नसक्नेहरूका लागि आफूहरू आन्दोलित भएको तर,सक्ने हैसियत भएकाले ऋण तिर्नुपर्ने बताएका हुन्।

यसअघि, उनले बैंक तथा लघुवित्तको २० लाख सम्मको ऋण मिनाहा हुनुपर्ने र घरमै आएर तनाव दिने लघुवित्त कर्मचारीलाई कालोमोसो दल्नुपर्ने उत्तेजक अभिव्यक्ति दिँदै आएका थिए। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले आफूले ऋण तिर्नु पर्दैन भनेर नभनेको समेत जिकिर गरे।

संघीयता खारेजी र राजसंस्था पुनर्स्थापनाको समेत अभियान चलाएका प्रसाईंले तिर्न सक्नेले ऋण तिर्नुपर्ने र नसक्नेहरूका लागि सरकारले ऋण मिनाहा गरिदिनुपर्ने बताए । उनले चर्को ब्याजदरमा ऋण तिर्न सक्नेहरूलाई तिर्न पनि आग्रह गरे ।

लघुवित्त र सहकारीलाई राज्यले जिम्मा लिनुपर्ने उल्लेख गर्दै प्रसाईंले भने–‘दुर्गा प्रसाईंले २० लाखदेखि मुनिको ऋण मिनाहा गर्छु भनेको छ भनेर चितवनमा पनि हाम्रो आन्दोलनविरुद्धमा लघुवित्तका सीईओहरू घुमेको देखेँ’ उनले भने–‘जो मान्छेले तिर्न सक्छ, तिर्नुस् । तिर्नुपर्दैन भनेको होइन । शक्ति हुने मान्छे, पैसा हुने मान्छेले तिर्दा हुन्छ, यो आन्दोलन भनेको सर्वहारा वर्गको लागि हो । जसले तिर्न सक्दैन त्यसको लागि पो मिनाहा गरिदिऊँ भनेको त।’

उनले ऋण मिनाहा बचतकर्ताहरूको पैसाबाट नभएर लघुवित्त र सहकारीको जिम्मा लिएर राज्यले व्यहोर्नुपर्ने पनि बताए । प्रसाईंले निरन्तर रूपमा देशभर विभिन्न आन्दोलनको कार्यक्रमहरू गरिने बताए । प्रसाईंले सरकारले आफ्नो अभियानको कालोमोसो दस्ताका संयोजक शम्भु थापालाई पक्रेर सरकारले अराजकता देखाएको आरोप पनि लगाए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!