सांसद अरुणकुमार चौधरी पक्राउ

Posted on: 02 Feb, 2023

माघ १९, कैलाली | कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी पक्राउ परेका छन्। नेपाल प्रहरीले बिहीवार बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो।

सांसद चौधरीसहितले २०६५ साल भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको सरकारीवादी फौजदारी मुद्दा परेको थियो। हालको लम्कीचुँहा नगरपालिका (साविकको बलिया गाविस) क्षेत्रमा उक्त ट्याक्टर जलाइएको थियो। प्रतिनिधिसभाका सदस्य चौधरीसहित तीन जनालाई कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते कैद तोकेको थियो। त्यो फैसला कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेलले जानकारी दिए ।


अदालतको उक्त आदेश अनुसारको सजाय नै नभोगी उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको खुलेको थियो । २०७४ सालमा लम्कीचुहा नगरपालिकाको मेयर र पछि प्रदेश निर्वाचनमा पराजित चौधरी गत मंसिरको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–२ बाट प्रतिनिधि सभा चुनाव जितेका थिए ।

फरार सूचीमा रहेकाले उनलाई अहिले धनगढी लग्ने तयारी भएको एक उच्च प्रहरी अधिकृतले बताए। उनी कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्। उनीसहित तीन जनालाई जिल्ला अदालत कैलालीले ट्याक्टरमा आगो लगाएको अभियोगमा ६ महिना कैद सजाय र  ८ लाख १९ हजार रुपैयाँ जरिवाना सुनाएको थियो।


यस बिषयमा तपाइको प्रतिक्रिया...!