कार्तिक २६, कञ्चनपुर | तिहारको मुखमा कञ्चनपुरमा एक दम्पती झुन्डिएको अवस्थामा फेला परेका छन्। लालझाडी गाउँपालिका-१ बिनवारीका राना दम्पती झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले आइतबार बिहान बिनवारीका २६ वर्षीय श्यामकुमार राना र २५ वर्षीया पुष्पा राना मृत फेला परेको जानकारी दिए।
‘श्रीमान् श्रीमती दुवै प्लास्टिकको डोरीले झुन्डिएको अवस्थामा फेला परेका छन्, उनले भने, ‘घटनास्थलसहित दुवै पक्षका आफन्तलाई बोलाएका छौँ, घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’
सँगै बाँच्ने र सँगै मर्ने कसम खाएर वैवाहिक जीवनमा बाँधिएको यो जोडीले तिहारकै मुखमा प्राण त्याग गरेसँगै घर परिवार, माइती पक्ष र गाउँ नै शोकमा डुबेको छ ।
उनीहरूले तीन वर्षीया छोरीलाई टुहुरो बनाएर छाडेका छन्। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाको खास कारण शवको पोस्टमार्टम गरेपछि पत्ता लाग्ने प्रहरीको भनाइ छ।