पोखरा– १८ को पुन: मतगणना गर्न उच्च अदालतको आदेश

Posted on: 05 Apr, 2023

चैत २२, पोखरा | गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत पोखरा महानगरपालिका वडा नम्बर १८ को पुन: मतगणना गर्न अदालतले आदेश दिएको छ । उच्च अदालत पोखराका कायममुकायम मुख्यन्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषिराज आचार्यको संयुक्त इजलासले मंगलबार पोखरा– १८ को पुनः मतगणना गर्न आदेश दिएको हो । अदालतले मितिसमेत तोक्दै आउँदो २० वैशाखमा पुनः मतगणना गर्न भनेको छ ।

गत ३० वैशाखमा सम्पन्न निर्वाचनपछि नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद तिमिल्सिनाले एक हजार ६ सय ४३ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पुष्कल थापाले एक हजार ६ सय ४० मत ल्याएका थिए । जम्मा तीन मत अन्तरले पराजित भएका थापाले तत्कालै पुनः मतगणना गर्न माग गरेका थिए । पोखरामा ३३ बटा वडा रहेका छन् ।

वडाको मतगणना सम्पन्न भएपछि गणनामा बसेका थापाका प्रतिनिधिले गणना सम्पन्न भएको मुचुल्कामा हस्ताक्षर गी मतपेटिका बन्द गरिसकेकाले पुन: गणना गर्न नमिल्ने निर्वाचन अधिकृतको कार्यालयले बताएको थियो ।

आयोगले पुन: गणना गर्न नमिल्ने बताएपछि जम्मा तीन मतले पराजित भएका थापाले पुनः मतगणनाको माग गर्दै उच्च उदालत पोखरामा १८ जेठमा निवेदन दिएका थिए । थापाले निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय कास्की, निर्वाचन अधिकृतको कार्यालय र विजयी वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनालाई विपक्षी बनाएर उच्च अदालतमा निवेदन दिएका थिए । 

गणनाका क्रममा नौ मत गायब बनाइएको र आफू तीन मतले हारेको थापाको दाबी छ । थापाको मागबमोजिम अदालतले पुनः मतगणना गर्न आदेश दिएको हो । अदालतले आउँदो २० वैशाखमा मतगणना गर्न मितिसमेत तोकिदिएको छ । थापाका पक्षबाट कानुन व्यवसायी वरिष्ठ अधिवक्ताद्वय हरि सुवेदी र सुरेन्द्र थापामगरसँगै अधिवक्ता मदन तिवारीले बहस गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!