सन्दीपको प्रकरणबारे गगनले भने- जीवनमै नखाएको गाली खाएँ, तर अहिले पनि मेरो तर्क त्यही हो

Posted on: 01 Jun, 2023

जेठ १८, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापा क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टीममा राख्न नहुने अडान लिँदा तीव्र प्रतिक्रियाको सामना गर्नुपर्‍यो । त्यस विषयमा आज उनले एक सार्वजनिक कार्यक्रममा गुनासो गरेका छन् ।

छापाखाना तथा सञ्चारसम्बद्ध संघको कार्यक्रमलाई सम्बोधन गर्दै गगनले आफूले जीवनमा कहिल्यै नखाएको गाली खाएको बताए । तर, अहिले पनि आफ्नो अडानमा कायम रहेको उनको भनाइ थियो ।

उनले सन्दीप प्रकरणलाई इंगित गर्दै भने, ‘केही समयअगाडि नेपालको एउटा प्रख्यात व्यक्तिलाई बलात्कारको घटनामा अभियोग लाग्यो । ठूलो मान्छेलाई होस् या साना मान्छेलाई, बलात्कार जस्तो जघन्य अपराधमा अभियोग लागिसकेपछि बराबर व्यवहार गर्नुपर्छ भन्ने मेरो तर्क रह्यो । अहिले पनि त्यो तर्क छ । त्यो भन्यावापत मैले जीवनमा सबैभन्दा बढी गाली खाएको विषय थियो होला त्यो । तर, मलाई केही पनि लाग्दैन । किनभने म सत्यको पक्षमा उभिएको थिएँ । त्यहाँ गाली, नाफाघाटा हेर्ने होइन । व्यक्ति पनि त्यही हो, पार्टी पनि त्यही हो ।’

गगन थापा र अर्का कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सन्दीप हिरासतबाट छुटेपछि राष्ट्रिय टीममा नफर्काउन नेपाल क्रिकेट संघलाई दबाब दिएका थिए । सन्दीप टीममा पर्दा उनीहरुले सामाजिक सञ्जालबाट विरोध जनाएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!