परिस्थिति बिग्रेलाजस्तो थियो, मोदीसँग तीनपटक एक्लाएक्लै भेटेपछि सहज भयो : प्रधानमन्त्री प्रचण्ड

Posted on: 02 Jun, 2023

जेठ १९, काठमाडौँ | भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग तीन पटक एक्लाएक्लै भेट भएपछि धेरै कुरामा सहज वातावरण बनेको बताएका छन् । परिस्थिति बिग्रेला जस्तो भए पनि धेरै राम्रो र ठूलो कुराको सुरुवात भएको प्रचण्डले बताए ।

नयाँदिल्लीमा आज केही सम्पादकहरुसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले भने, ‘मोदीसित हिजो मेरो तीनपटक वान टु वान भेट भयो । त्यसैले सहजतामा लग्यो । नत्र कुरा बिग्रेला जस्तोथ्यो । धेरै राम्रो र ठूलो कुराको सुरुवात भएको छ ।’

उनले सीमा समस्या समाधानबारे मोदीले पहिलो पटक बोल्नु नै महत्वपूर्ण भएको बताए । ‘सीमा समस्याबारे मोदीले पहिलोपटक आफ्नो मुखबाट बोल्नु भनेको महत्त्वपूर्ण कुरा हो । मैले यसमा सुरुमै जोड दिएर राखेको थिएँ,’ उनले भने ।

भारतको चारदिने भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डल जेठ १७ गते नयाँदिल्ली आएको थियो । प्रधानमन्त्री प्रचण्डले जेठ १९ गते प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु लगायतसँग भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री मोदीसँगको भेटका क्रममा नेपाल र भारतबीच विभिन्न सात सम्झौतामा हस्ताक्षर भएको थियो । मूलतः ऊर्जा र पारवहन क्षेत्रमा भएको सहमति ‘ऐतिहासिक’ भएको सम्वद्ध पक्षको दाबी छ । उनी आज मध्यप्रदेशको इन्दोर जाने र शनिबार स्वदेश फर्किने तालिका छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!