दोषी ठहर भए माओवादीकै नेता पनि कारबाही गर्छु : गृहमन्त्री श्रेष्ठ

Posted on: 03 Jun, 2023

जेठ २०, काठमाडौँ | उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले थालेको अनुसन्धान खेर नजाने भएको बताए ।

शनिवार काठमाडौँमा पालिकाका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धान स्वतन्त्र र निष्पक्ष रुपमा गरी दोषीमाथि कारबाही हुने बताए ।

उनले आफू राम्रो काम गरेँ भनेर विश्राम गरेर नबस्ने बताएका छन्। उपप्रधानमन्त्री श्रेष्ठले सुशासनको बाधकका रुपमा जुनसुकै पार्टीको नेता पनि भ्रष्टाचार र अनियमिततामा फेला परे कारबाही गर्न पछि नहट्ने बताए ।

उनले आफ्नै पार्टी नेकपा (माओवादी केन्द्र) का नेताहरु पनि भ्रष्टाचार काण्डमा, अनियमितताको काण्डमा परे भने कारबाही गर्न पछि नहट्ने र त्यो बेला आश्चर्यमा पर्न आवश्यक नरहेको बताए । उहाँले कसैले बढुवा, सरुवाको निम्ति अनियमितता गरेर रकम दिने र लिनेलाई नै जेल हाल्ने बताए ।

उनले भने  ‘हामी सुशासनको स्थापना गर्न कुन पार्टीको को पर्छ मर्ला थाहा छैन, आज कुनै एउटा पार्टीको होला, भोलि मेरै पार्टीको कोही पर्ला, भ्रष्टाचार काण्डमा, अनियमितताको काण्डमा परे भने आश्चर्य नमान्नुहोला । त्यो छुट दिइने छैन । उनले भने 'खबरदार अब कोही कसैले बढुवा, सरुवाको निम्ति म भन्दिन्छु भनेर नागरिक झुक्याउँछ भने दिनेलाई र लिनेलाई नि जेल हाल्छु ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!