आज घोडे जात्रा पर्व, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

Posted on: 21 Mar, 2023

चैत ७, काठमाडौं | चैत्र कृष्ण औंसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौं उपत्यकामा मनाइँदैछ ।

उक्त समारोहमा घोडचढीहरुले विभिन्न कला प्रदर्शन गर्दछन् । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता हुने गर्दछ ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो ।

पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो ।

घोडेजात्राको अवसरमा टुँडिखेलमा नेपाली सेनाले अश्वकला, युद्धकला, शारीरिक व्यायामलगायतको प्रदर्शन गर्दछ । ललितपुर जिल्लामा भने एउटा आँखा नदेख्ने एक्लो घोडा दौडाएर घोडे जात्रा मनाउने गरिन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!