३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नयाँ बसपार्कबाट सञ्चालन हुन थाले माइक्रोबस

२५ जेष्ठ २०८०, बिहीबार १०:२२

जेठ २५, काठमाडौँ | काठमाडौँबाट देशका विभिन्न जिल्लामा चल्ने लामो तथा मध्यम दूरीका माईक्रोबस नयाँबसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् । काठमाडौँ महानगरपालिकाले यही जेठ १९ गते एक सूचना जारी गरी काठमाडौँ उपत्यकाबाहिर चल्ने सम्पूर्ण सवारी साधनलाई गोँगबुस्थित नयाँ बसपार्कभित्रबाट मात्र सञ्चालन गर्ने निर्णय गरेसँगै केही माईक्रोबस भने नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेका हुन् ।

यसअघि नयाँ बसपार्कबाट ठूला सार्वजनिक सवारी साधनमात्र सञ्चालन हुँदै आएका थिए । महानगरपालिकाले जारी गरेको सूचनामा जभाभावी पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत राख्ने, सडकमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा अवरोध पुगेको उल्लेख गरिएको छ । 

काठमाडौँ महानगरपालिकाले आगामी असार १ गतेदेखि नयाँ बसपार्क बाहिर रहेका टिकट काउन्टर हटाउनसमेत आग्रह गरेको छ । नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिले माईक्रोबसका लागि लोत्से मल पछाडि छुट्टै टिकट काउण्टर निर्माण गरिदिएसँगै काठमाडौँबाट नारायणगढ, भैरहवा, सुनौली, लुम्बिनी, तौलिहवा, पोखरा, स्याङ्जा, वालिङ, गल्याङ, बाग्लुङ, बेनी, बुर्तिवाङ, कुश्मा, चापाकोटलगायत स्थानमा जाने माईक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेका हुन् ।

लोत्से बहुउदेश्यीय प्रालिका मानव संशोधन प्रमुख पङ्कज मल्लले नयाँ बसपार्कभित्र सञ्चालन हुने माईक्रोबसका लागि छुट्टै टिकट काउन्टर निर्माण गरेको बताउनुभयो । यसअघि काठमाडौँबाट चितवन, नवलपरासी, भैरहवा जाने माईक्रोबस कलङ्कीको मुख्य सडकबाट गुड्दै आएका थिए । 

यस्तै, पृथ्वी राजमार्गअन्तर्गत पोखरा, लमजुङ, बागलुङ, म्याग्दीलगायतका क्षेत्रमा चल्ने माईक्रोबस गोङ्गबुदेखि नयाँ बसपार्क बीचको मुख्य सडक छेउ, धादिङ, रसुवा नुवाकोट जाने सवारीसाधन माछापोखरी र गोरखा चल्ने माईक्रोबस बालाजु क्षेत्रबाट सञ्चालन हुँदै आएका थिए । काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौँ महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँबसपार्क सञ्चालनमा ल्याए पनि कतिपय सार्वजनिक बस भने अहिलेपनि चक्रपथको मुख्य सडकलाई बसपार्क बनाएर सञ्चालन हुँदै आएका छन् । 

काठमाडौँ महानगरपालिकाका यातायात विज्ञ जगतमान श्रेष्ठले चक्रपथ विस्तारको काम सुरु भएपछि सडकको वरिपरिबाट अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएका सवारीसाधनलाई नयाँबसपार्कभित्रबाट सञ्चालन गर्नेगरी काठमाडौँ महानगरपालिकाले काम गरिरहेको बताउनुभयो ।“काठमाडौँ महानगरपालिकाले लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन पार्किङका लागि नयाँबसपार्कमा एक सय ६१ रोपनी जग्गा उपलब्ध गराएको छ, सबै सवारीसाधन बसपार्कभित्रबाट सञ्चालन गर्नुपर्छ भनेर महानगरपालिकाले काम गरिरहेको छ”, उहाँले भन्नुभयो । गोँगबुस्थित नयाँ बसपार्कमा हाल ८०० सवारीसाधन अटाउने क्षमता रहेको छ । 

महानगरपालिकाका यातायात विज्ञ श्रेष्ठले नयाँ बसपार्कभित्र काठमाडौँ भित्रिने सवारीसाधन नअटाए त्यसको विकल्प खोजिने बताउनुयो । काठमाडौँको चक्रपथ वरपर मुख्य सडकमा टिकट काउन्टर र जथाभावी बस पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने गरेको छ ।

 काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार लामो दूरीका सवारीसाधन चक्रपथको बाटो भएर ओहोरदोहोर गर्दा ट्राफिक व्यवस्थापनमा असहज हुने गरेको हो । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले लामो दूरीका सवारीसाधन चक्रपथ वरपर सडकमा पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको बताउनुभयो । पछिल्लो समय मुलुकको सङ्घीय राजधानी काठमाडौँलगायत देशभर निजी तथा सार्वजनिक सवारी साधनको सङ्ख्या वृद्धि हुँदा र बाटो साँघुरो हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट