बिहे गर्छु भनेर गेस्ट हाउसमा बोलाएर बलात्कार, एक लाख नगद पनि लुटे

Posted on: 21 Jun, 2022

असार ७, काठमाडौं | बिहे गर्छु भनेर गेस्ट हाउसमा बोलाएर एक युवतीमाथि बलात्कार भएको छ । भोटेबहालस्थित एक गेस्ट हाउसमा राखेर बलात्कार गर्दै उनीसंग भएको नगद एक लाख रुपैयाँ समेत लुटेर लगेका छन् ।

बलात्कार र लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले काभ्रेको तिमाल गाउँपालिका ९ घर भई हाल बनेपामा डेरा गरी बस्ने ३० वर्षीय जय,आशिष भनिने विश्व तामाङलाई पक्राउ गरेको छ ।


उनले ललितपुरकी एक २४ वर्षीया युवतीसंग प्रेम प्रस्ताव राखेका थिए । सामाजिक सञ्जाल इमोमार्फत दुई साताअघि मात्रै ती युवती र जयबीच कुराकानी हुन थालेको थियो ।

उनको कुरा सुनेर युवती प्रभावित भइन् । दुई सातामै विश्वले उनीसंग प्रेम प्रस्ताव राखे । युवतीले पनि स्वीकार गरिन् । र जयले विवाह गरिहाल्ने बताए ।

घरपरिवारसंग भनेर अघि बढ्दा साथ नपाइने भन्दै उनले भगाएर लैजाने कुरा गरे । युवतीले पनि विश्वका सबै कुरा पत्याइन् र २९ जेठमा भागेर जान भन्दै घर छाडेर हिँडिन् ।

घरबाट भागेर हिँडेकी युवतीलाई जयले काठमाडौंको भोटेबहालको एक गेष्टल हाउसमा लगेर राखे । गेस्ट हाउसमा राखेपछि जयको रुप नै परिवर्तन भयो । त्यहाँ उनले युवतीलाई पेय पदार्थमा लठ्याउने औषधि खुवाईदिए ।

त्यसपछि जबरजस्ती करणी गरेर साथमा रहेको एक लाख रुपैयाभ, दुई तोला सुन र एउटा मोबाईल लुटेर लगे ।

भागेर विवाह गर्ने भनेपछि उनले घरमा भएको अलिअलि पैसा र सुन लिएर निस्किएकी थिइन् । तर, मोबाइल समेत लगेपछि उनीसंग जयलाई चिन्ने कुनै आधार भएन ।

आफूमाथि आइपरेको आपतबारे उनले सोच्नै सकिरहेकी थिइनन् । दुई दिनसम्म त उनी फर्किएर आउलान् कि भनेर बाटो हेरिरहिन् । त्यसपछि ३१ जेठमा प्रहरी वृत्त, कालिमाटीमा जाहेरी दिइन् ।

प्रहरी वृत्त, कालिमाटीका डीएसपी अनिल घिमिरेका अनुसार पीडितले जाहेरी दिँदा पीडकको कुनै संकेत प्रहरीले पाएको थिएन । होटलमा बस्दा समेत पीडित महिलाकै परिचय पत्र, मोबाइल नम्बरमार्फत डाटा इन्ट्री गराएका थिए ।

प्रहरीले सीसी क्यामरा फुटेज र अन्य प्राविधिक पक्षको विश्लेषण गर्दा ‘जय’ भनिएका व्यक्तिको खास नाम विश्व तामाङ भएको खुल्यो । उनले ‘जय’, ‘भोटे’, ‘आशिष’ गरी तीन वटा नामबाट आफूलाई चिनाउने गरेका थिए ।

पक्राउ परेका तामाङमाथि जबरजस्ती करणी र चोरी सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंबाट ७ दिन म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीलेबताए । घटनापछि पीडितको प्रसूति गृह थापाथलीमा स्वास्थ्य परीक्षण गराइएको एसपी मैनालीले बताए ।

तामाङमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१८ को देहाय २१९ को जबर्जस्ती करणी गर्न नहुने र ऐ. ऐनको परिच्छेद–२० को देहाय २४१ को चोरी गर्न नहुने कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!