नन्दलाल आचार्य |
दरिद्रले गाँजेका बखत खडेरीले शशिभुषणको घाँटी समायो । माघ महिनामा नै अन्न तुरियो । विवाह गरेको बीस वर्ष नाघिसक्दा पनि सन्तानको मुख हेर्न नपाउँदाको पिरलो टाउकामा छँदै थियो । अनिकालले त्यसलाई त्यसै ओझेलमा पारिदियो ।
पानी नपरे पनि ऊ काम गर्न भने छाड्नथ्यो । विहान खेतमा पस्नु र साँझमा निस्कनु उसको दिनचर्या नै थियो । मान्छेको आँखा छलेर वर्षेनी दुईचार हात सरकारी ऐलानी जग्गा समेत मिच्ने गर्दथ्यो ।
एक साँझ मिचेको नयाँ जग्गा खन्दैथ्यो । अनौठो वस्तु देख्यो । जतनले खोस्रियो । पलाष्टिकले मुख बाँधेको माटोको गाग्रिरहेछ । त्यहीँ खोल्ने मन भयो । झट्ट रामायणको सीता जन्मको कथा सम्झियो ।
खुशी हुँदै घर पुगी श्रीमतीलाई भन्यो– “प्रभुले निःसन्तान हुनबाट जोगाएका हुन् या असर्फी दिएर दरिद्रता भगाएका हुन् । यो गाग्री पो दिए । घर चोखोनितो गर । पूजाआजा गरेर म गाग्री खोल्छु ।”
श्रीमतीले भनेझैं गरिन् । उसले तनमनले गाग्राको पूजा गर्यो र टाउकामा राखी प्रभुलाई धन्यवाद टक्र्यायो । च्याप्प पक्रेकाले त्यो टाउकामै फुट्यो र कालो झोल शिरदेखि पाउसम्म खनियो ।
उसले पुकारा गर्यो– “प्रभु ! प्रभु ! जय होस् । जय होस् ।”
श्रीमती चिच्याई– “के को प्रभु ! त्यो त सानेकी स्वास्नीको छोराको सालनाल हालेर गाडेको गाग्रो हो ।”
यथार्थ बुझेपछि शशिभुषण छिःछिः र दुर्दुर् गर्दै नुहाउन गयो ।
–श्री महावीर मावि, विषहरिया–४, सप्तरी ।
मो.नं. ९८४२८२९२०६