कृष्ण उफान | नयाँ नयाँ प्रविधिले मानिसलाई कति सजिलो बनाएको छ भनी साध्य छैन । कयौं महिनासम्म नहुने काम एकै मिनेटमा सम्पन्न हुने भएको छ । लाख कोसिस गर्दा पनि माखो नमरेको काम पनि एक कलबाट पूरा हुन सक्ने भएको छ । यस्ता प्रविधिको आविष्कार गर्ने आविष्कारकलाई हृदयदेखि नै धन्यवाद टक्र्याउन मन लाग्छ । अँझ नयाँ नयाँ आविष्कारको खोजी गरेर विश्वलाई उथलपुथल पारिदिए पनि हुन्छ जस्तो लाग्छ ।
म पनि त नयाँ नयाँ प्रविधिबाट अलग्गिन सकिन । एउटा थोत्रो खालको मोबाइल बोकेर हिड्न थाले । कही कतैबाट फोनको घन्टी बज्नासाथ हतार हतार फोन उठाउछु । एक पटक नयाँ नम्बरबाट फोन आएकोले मैले फोन गर्ने पात्र पहिल्याउन सकिन । हेलो को बोल्नुभएको र कसलाई खोज्नुभएको भनेर मैले सामान्य औपचारिकता दर्शाए । “के चिनेर पनि नचिनेको जस्तो स्वाँगे अभिनय गर्नुहुन्छ” भनेर उल्टै प्रतिप्रश्न तेस्र्याइन् । म अवाक भए । तैपनि पहिचान गर्ने चेष्टा गरे । सकेसम्म सम्झने र चिन्ने प्रयास गरे,न्वारानदेखिको बल बुद्धि लगाए तर मेरो कुनै बुता चलेन । पुनः नम्र स्वरमा भने “मैले हजुरलाई चिन्न मुस्किल पर्यो कृपया परिचय पाउन पाँए गफको शिलसिला अगाडि बढाउन सजिलो हुने थियो कि ?” अब त मानिस चिन्न पनि छोड्नु भएछ त । यसो के स्थानीय साप्ताहिक पत्रिकामा स्तम्भ चलाउन थाल्नुभएको छ अब त मान्छे चिन्न पनि छोड्नुभयो ? मलाई पनि ज्यादै जङ चल्यो । हजुरले गलत नम्बरमा फोन गर्नुभएको जस्तो छ । एक पटक राम्रोसँग नम्बर हेरेर फोन गर्नुहोला भनेर फोन राखिदिए ।
एक छिन पछि पुनः त्यही नम्बरबाट फोन आयो । फोन उठाए हेलो तपाईले कसलाई खोज्नुभएको हो ? मैले हजुरलाई नै खोजेको हो । कृष्ण उफान भनेको तपाई होइन ? म तपाईको लेखको फ्यान हूँ । मलाई तपाईको लेखहरू असाध्यै मन पर्छन् । म दोहोर्याई दोहोर्याई पढ्छु । त्यतिले पनि चित्त नबुझेर पुनः पढ्न विवश हुन्छु । असाध्यै चोटिला लेखहरू लेख्नुहुन्छ तपाईलाई धेरै धन्यवाद मात्र के भनेकी थिइन् । हजुर मेरो लेखको फ्यान बन्नुभएकोका धेरै धेरै धन्यवाद भन्दै फोन राखिदिए । मलाई यस्तरी फुक्र्याएको सायद जीवनमा नै पहिलो पटक हो । त्यसैले गर्वले आफ्नो नाक त घिरौलाभन्दा पनि ठूलो भएछ कि क्या हो भनेर हतार हतार नाक छामेको त के को घिरौला जत्रो हुनु नि । बदलिदो मौषमको कारण रूखाखोकी र मर्कीले गर्दा नाक भरी लत्पतिएको नाके सुली पो हात भरी लागेर बेहालत बनायो ।
पुनः मोबाइलमा घन्टी बज्न थाल्यो । मलाई हैरान नै बनाउने भइन् । करले फोन उठाए हेलो फेरि किन फोन गर्नुभएको भनेर प्रश्न तेस्र्याए । अरे किन रिसाउनुहुन्छ । मरी जाने चोलामा मरेर के लानु छ र ? किन मदेखि उतर्सिएर भाग्न लाग्नुभएको ? के फोनबाट गफ गर्न पनि लाज लाग्छ कि क्या हो ? भनेर प्रश्नहरू पो वर्षाउन थालिन् । अब चाहि साँच्चै नै मज्जाले गफ गर्ने विचारले उनको परिचय सोध्न थाले । तर उनले मलाई आफ्नो वास्तविक परिचय दिन हिचकिचाइन् । ठिकै छ, मेरो लेखलाई ध्यान दिएर पढ्नुभएकोमा हार्दिक धन्यवाद । अब आइन्दा घरी घरी फोन गरेर मलाई हैरान नपार्नु भएमा धेरैभन्दा धेरै राम्रो हुने थियो कि ? भन्दै फोन राखिदिए ।
म आफैले फोन नगर्नुहोला भनेर सरकारले राष्ट्रपतिलाई आफ्नो मान मर्यादामा रहनुहोला भनेर दिएको झै उनलाई चेतावनी दिए । पछि मन भरी उकुसमुकुस भएर खुल्दुलीले काइदाले डेरा जमायो । मलाई घरी घरी फोन गरेर मिठा मिठा गफ गर्ने, कोइलीको झै सुरिलो आवाज भएकी ती नारी आवाज कसको होला भन्ने कुराले मेरो मथिङ्गलमा घुमिरह्यो । जति सम्झाउन खोजे पनि मनले अटेर गरेर तिनकै फोनको प्रतिक्षामा बसिरहे । भोलिपल्ट पनि उही समयमा त्यही नम्बरबाट फोन आयो । मेरो प्रतिक्षाको घडी समाप्त भयो । अघिल्लो दिनकोभन्दा नम्र भएर मैले फोन उठाए हेलो आज फेरि किन फोन गर्नुभएको त ?मैले केही सेवा गर्र्नु पर्छ कि? “लामो सुस्केरा हाल्दै हरे ! किन त्यस्तरी आत्तिनु भएको ? एक जना केटीले फोन गर्दैमा के के न भएको जस्तो गरी आत्तिनुहुन्छ भने तपाईले जीवनमा के गर्न सक्नु होला र ? परेवाकोभन्दा पनि सानो मुटु छ कि क्याहो ? नआत्तिनुहोस् न तपाईलाई म मेरो मनका कुराहरू मन खोलेर भन्न चाहन्छु । यदि मलाई अनुमतिदिनुहुन्छ भने म मेरा मनमा गुम्सिएर बसेका, उकुसमुकुस भएर मडारिएका सबै कुराहरू ओकल्ने विचारमा छु । चाहना, आकांक्षा र रहरहरू तपाई समक्ष पेश गर्ने इच्छा छ ।” म ज्यादै दोधारमा परे । बाबुराम नेतृत्वको सरकार जस्तो । सरकारमा टासिएर बसिरहू भने संविधान बनाउनको लागि दम छैन ।
निर्वाचनमा जाउँ भने प्रतिपक्ष सधैं विरोधमा उत्रिरहन्छ । सरकारबाट बाहिरिन खोज्यो भने दलभन्दा बाहिरको बहादुरलाई सरकार छोडेर जानुपर्ने स्थिति आउँला जस्तो छ । अनुमति नदिउ भने घरी घरी फोन गरेर हैरान पार्छिन् । अनुमति दिउ भने कुन भड्खालोमा जाक्ने हो ? मानिसमा कुनै न कुनै स्वार्थ नभइकन यसरी कुनै अपरिचित व्यक्तिसँग नजिकिन खोज्दै खोज्दैन । स्वार्थी दुनियामा कुन माइकेलाल होला र अरूको हितको लागि मात्र काम गर्ने ? न प्रेम प्रस्ताव राखेर मेरो जिन्दगीको सुन्दर बगैंचामा भाइरस बनेर छिर्ने प्रयास गर्ने हुन् ? मेरो एउटा छुट्टै सानो घर संसार छ । मसँग जे छन् त्यहीमा सन्तुष्टिका साथ रमाइरहेको छु । आँट नभएको छोरो र रूप नभएको छोरीको काम छैन भन्ने हुन् कि ? कतै यस्तो अल्झोमा पारेर “तीन वटा गोरु हल पक्का दुई वटी स्वास्नी घर पक्का” भनेर मलाई अर्थ्याउने पो हुन् कि ? यस्तै यस्तै कुराहरू मेरा मनभरि जेलिएका छन् । नेपाली राजनीतिमा जस्तो सहमतिको डोरी तन्काएर राख्न पनि मन छैन । अर्को कुरा उनलाई आश्वासनमा अल्झाएर नेताहरूको जस्तो झुटो बोल्न पनि आउदैन । दुविधामा अल्झिएको मनले कहिले शान्ति पाउने हो ? नेपालीले आशा गरेको नयाँ नेपालको संविधान नपाए झै आशातित आशामा अल्झेर बसिरहनु पर्ने त होइन ? विज्ञ पाठक वृन्द ! प्रेममा भुक्तभोगी भएर प्रेम विश्वविद्यालयबाट पिएचडीको उपाधी पाइसक्नुभएको छ कि ? यदि प्रेममा विज्ञ हुनुहुन्छ भने मोबाइलमा अल्झिएको प्रेमबाट कसरी छुटकारा पाउने हो ? कुनै तौरतरिका भए मलाई सुटुक्क बताइदिनुहुन्छ कि ?