काठमाडौँ | सार्वजनिक यातायात बचाउ संघर्ष समितिको आह्वानमा गण्डकी प्रदेशमा जारी यातायात बन्द आइतबार पनि यथावत् रहेको छ। बन्दका कारण पोखरामा अलपत्र परेका यात्रुहरूलाई सशस्त्र प्रहरीले स्कर्टिङको माध्यमबाट काठमाडौँ र चितवनतर्फ पठाएको छ।
यसअघि शनिबार पनि यस्तै स्कर्टिङ गरी यात्रुलाई गन्तव्यतर्फ पठाइएको थियो।
संघर्ष समितिले जेठ १६ गतेदेखि गण्डकी प्रदेशभर सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउँदै आएको छ। यसका कारण सयौं यात्रीहरू पोखरामा अलपत्र परेका छन्। यात्रुको समस्यालाई मध्यनजर गर्दै आइतबार बिहान १० बजेबाट २५ वटा पर्यटक बसमार्फत स्कर्टिङको गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण, कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले पोखराबाट कास्कीको सीमा कोत्रेसम्म यात्रुहरूलाई स्कर्टिङ गर्दै ल्याएको छ। त्यसपछि तनहुँस्थित सशस्त्र प्रहरीको नम्बर २३ मनकामना गणले नेपाल प्रहरीसहित यात्रुहरूलाई मुग्लिनसम्म स्कर्टिङ गरी पुर्याएको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र अनुसार, गण्डकी र बागमती प्रदेशको सीमासम्म सुरक्षा निकायको समन्वयमा यात्रुहरूलाई सुरक्षितरूपमा गन्तव्य स्थानसम्म पुर्याउने व्यवस्था गरिएको छ।