काठमाडौँ | सार्वजनिक यातायात व्यवसायीहरूले सात बुँदे माग अघि सार्दै चरणबद्ध आन्दोलन सुरु गरेका छन्। आन्दोलनको क्रमलाई अघि बढाउँदै आइतबार उनीहरूले माइतीघर मण्डलामा विरोध र्याली तथा धर्ना प्रदर्शन गरेका हुन्।
सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको अगुवाइमा आयोजित प्रदर्शनमा सहभागी व्यवसायीहरूले गाडीमा कालो झण्डा राखेका थिए भने निधारमा कालोपट्टी बाँधेर आफ्नो असन्तुष्टि सार्वजनिक गरेका थिए।
व्यवसायीहरूको प्रमुख मागहरूमा बागमती प्रदेश सरकारले ल्याएको सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा १३ को उपदफा ४ तत्काल खारेज गर्नुपर्ने, राइड सेयरिङ एप्स बन्द गर्नुपर्ने, जस्ता विषयहरू समावेश छन्।
यसअघि आन्दोलनको पहिलो चरणमा व्यवसायीहरूले रिङरोड सडकखण्डमा सार्वजनिक सवारीसाधन सडकमै तेर्साएर विरोध जनाएका थिए। साथै, उनीहरूले देशका ६ वटै प्रदेशबाट कालो झण्डा देखाउँदै विरोध र्याली निकालेका थिए।
संघर्ष समितिले चेतावनी दिँदै भनेको छ कि यदि आगामी जेठ १९ गतेसम्म मागहरू पूरा नभएमा देशभर सार्वजनिक यातायात सेवा अनिश्चितकालका लागि बन्द गरिनेछ।