काठमाडौँ । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित ६ जना सहसचिवको सरुवा गरेको छ।
शुक्रबार गृहमन्त्री रमेश लेखकको निर्णयानुसार बर्दिया, कास्की, धनुषा र पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरिएको हो।
गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव छवि रिजालका अनुसार बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई कास्की स्थानान्तरण गरिएको छ भने कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई मन्त्रालयमा तानेर जगेडामा राखिएको छ।
त्यस्तै, मन्त्रालयमा जगेडामा रहेका सहसचिव सुरेन्द्र पौडेललाई बर्दियाको सिडिओ बनाइएको छ। धनुषामा कार्यरत रामुराज कडरीयालाई मन्त्रालय बोलाएर, शंकरहरि शर्मालाई त्यहाँको सिडिओका रूपमा पठाइएको छ।
यसैगरी, सहसचिव अरुण पोखरेललाई पाँचथरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
गृह मन्त्रालयको यो निर्णय प्रशासनिक पुनःसंरचना र जिल्लास्तरीय कार्यसम्पादन सुदृढीकरणका लागि गरिएको बताइएको छ।