काठमाडौँ | गण्डकी प्रदेश सरकारले तयार पारेको ‘राइड सेयरिङ’ सम्बन्धी कानुनको विरोधमा देशभर यातायात व्यवसायी आन्दोलित छन्। आन्दोलनका कारण सार्वजनिक यातायात प्रभावित हुँदा यात्रुहरूले कठिनाइ भोग्नु परेको छ।
सार्वजनिक सवारी नचलेकाले निजी सवारी नभएकाहरू पैदल हिँड्न बाध्य भएका छन्। विशेषगरी महिला, बालबालिका, बिरामी तथा ज्येष्ठ नागरिकहरूलाई थप समस्यामा परेका छ।
यस्तो परिस्थितिमा राइड सेयरिङ सेवा दिने सवारीचालकहरूले सेवाको माग उच्च भएको बेला बढी भाडा लिएको यात्रुहरूले गुनासो गरेका छन्। एपमार्फत सेवा नदिई ‘अफलाइन’ रुपमा सिधै यात्रु चढाएर बढी भाडा लिएको गुनासो समेत आएको छ।
यस सम्बन्धमा गुनासो बढेपछि प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै राइड सेयरिङ सेवा प्रदायकहरूलाई उचित भाडा लिन अनुरोध गरेको छ। साथै, सेवाग्राहीलाई भाडा सम्बन्धी कुनै समस्या परेमा नजिकको ट्राफिक प्रहरी कार्यालय वा १०३ नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ।