काठमाडौँ । सुनसरी प्रहरीले हरिनगरा गाउँपालिकाको कटान खोला बगरबाट १ हजार १ सय २० किलोग्राम गाँजा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय, सुनसरीका अनुसार हरिनगरा गाउँपालिकाको वडा नं. ५ र ६ को सिमानामा पर्ने कटान खोलाको बगर क्षेत्रमा गाँजा लुकाएर राखिएको अवस्थामा फेला पारिएको हो। प्रारम्भिक अनुसन्धान अनुसार, ती गाँजा तयारी अवस्थामा विभिन्न रङका ३८ वटा प्लास्टिकको बोरा भित्र प्याक गरिएको थियो।
प्रहरीलाई प्राप्त सूचनाको आधारमा मङ्गलबार साँझ घुस्कीस्थित प्रहरी चौकीको समन्वयमा देवानगञ्ज इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल विष्ट, प्रहरी नायब निरीक्षक सुरेश यादव, सुरक्षा बेस क्याम्प बसन्तपुरका प्रनानी विष्णुबहादुर दनुवार, जिल्ला प्रहरी कार्यालयका प्रनानी महेश ढकाल, शसस्त्र प्रहरी बल घुस्कीका सहायक प्रहरी निरीक्षक नरेन्द्र घिमिरे तथा बसन्तपुर बीओपीका सहायक प्रहरी निरीक्षक इन्द्रजंग थापाको टोलीले संयुक्त रूपमा बगरमा उत्खनन कार्य गरी उक्त गाँजा बरामद गरेको हो।
बरामद गरिएको गाँजा हाल जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपालबाट भारतीय बजारतर्फ हुने तस्करीको शृङ्खलामा यो गाँजा राखिएको हुन सक्ने आशंका गरिएको छ। तस्करहरूले सुनसरीको बराहक्षेत्र र विष्णुपादुका क्षेत्र हुँदै ल्याएको गाँजा भारतीय पक्षबाट लिन ढिलाइ भएपछि खोलाको बगरमा लुकाएर राखिएको हुन सक्ने अनुमान गरिएको छ।
धनकुटाको शहीदभूमि गाउँपालिका क्षेत्रलाई हालसम्म सबैभन्दा बढी गाँजा उत्पादन हुने क्षेत्रका रूपमा चिनिन्छ।