काठमाडौं । काठमाडौं महानगरको छिमेकी तारकेश्वर नगरपालिका वडा नं. ११ मा सञ्चालनमा रहेका केही खाजाघरहरू अनैतिक तथा अवैध गतिविधिका केन्द्र बन्दै गएका छन्।
तारकेश्वर नगरपालिका–११ स्थित गुम्बा जाने पुलदेखि आनन्द टोलको पुलसम्मको क्षेत्रमा अवस्थित विभिन्न खाजाघरहरूमा असामाजिक क्रियाकलाप भइरहेको भन्ने उजुरीपछि वडाध्यक्ष कविराज बस्नेतले सार्वजनिक विज्ञप्तिमार्फत जनसमुदायलाई सचेत गराएका छन्।
उनले जारी गरेको विज्ञप्तिमा कित्ता नं ३९, ७२, ७१, ७०, १०५, १०७, ६८, ७३ र ११० मा निर्माण गरिएका खाजाघरहरूमा लागुऔषधको दुर्व्यसन, युवायुवतीबीचको अनुशासनहीन तथा यौनजन्य क्रियाकलाप, मदिरा सेवन, झैझगडा तथा हतियारको प्रयोग जस्ता गतिविधिहरू हुने गरेको उल्लेख गरिएको छ।
यस प्रकारका गतिविधिका कारण स्थानीय बासिन्दाहरूले असुरक्षा महसुस गरिरहेको र वडामा पटक–पटक उजुरी परेको जनाइएको छ।
वडाध्यक्ष बस्नेतले एक साताभित्र ती घर तथा जग्गाधनी लगायत सञ्चालकहरूलाई वडा कार्यालयमा उपस्थित भई स्पष्टिकरण दिन आग्रह गरेका छन्। निर्धारित समयसीमाभित्र उपस्थित नभएमा सम्बन्धित खाजाघरहरू बन्द गरिने चेतावनी समेत उनले दिएका छन्।