काठमाडौं । प्रतिनिधिसभाको जारी अवरोध हटाउने प्रयासस्वरूप सभामुख देवराज घिमिरेको आह्वानमा बसेको बैठक निष्कर्षविहीन बनेको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामाको माग गर्दै विपक्षी दलहरूले सदन अवरुद्ध गरिरहेका छन्।
सभामुख घिमिरेले सत्ता र विपक्षी दलका प्रमुख सचेतकहरूलाई बोलाएर बुधबार बिहान संसद् सञ्चालनबारे सहमति खोज्ने प्रयास गरेका थिए। तर, बैठकमा कुनै ठोस सहमति जुट्न सकेको छैन।
आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सुरु हुन सकेको छैन। मंगलबार पनि सहमति नजुटेपछि बैठक स्थगित गरिएको थियो।
सत्तापक्षले गृहमन्त्री लेखकमाथि उठेका आरोपहरूबारे उनले स्वयं संसद्मा जवाफ दिन पाउनुपर्ने अडान लिएको छ। तर, विपक्षी दलहरू गृहमन्त्रीको सम्बोधनभन्दा पहिले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन गरी स्पष्ट कार्यादेश (टीओआर) सहित सरकार प्रस्तुत हुनुपर्ने मागमा अडिग छन्।
यसबीचमा सदनको कार्यसूची अन्योलमा परेको छ भने बजेट सम्बन्धी महत्त्वपूर्ण छलफलहरू पनि प्रभावित भएका छन्।