काठमाडौँ । म्यानमारको मेवाडी क्षेत्रमा अलपत्र परेका तीन नेपाली नागरिकलाई उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले, थाई सरकारले उपलब्ध गराएको सहयोगमा उनीहरूको उद्धार गरी बुधबार काठमाडौँ पठाएको हो।
अनलाइन स्क्यामिङ कार्यमा संलग्न गरिएका नेपाली नागरिकहरूलाई म्यानमारको मेवाडीबाट उद्धार गरी थाइल्यान्डको बैंकक हुँदै २०८२ जेठ २१ गते तीन जना पुरुषलाई नेपाल फर्काइएको छ।
उद्धार गरिएका ती नेपाली अवैध रूपमा रोजगारीको प्रलोभनमा परेका थिए।
साथै, दूतावासले वैदेशिक रोजगारीमा जान चाहने नेपालीलाई नेपाल सरकारद्वारा तोकिएका मापदण्ड अनुसार श्रम स्वीकृति लिएर मात्र विदेश जान अनुरोध गरेको छ।
दूतावासले विशेषगरी कम्बोडिया, लाओस, म्यानमार, र थाइल्यान्ड लगायतका मुलुकहरूमा छिटो र धेरै पैसा कमाउने प्रलोभनमा नफस्न आग्रह गर्दै यस्ता जोखिमयुक्त गन्तव्यतर्फ नजान चेतावनी दिएको छ।