काठमाडौँ । संसद्को गतिरोध अन्त्यका लागि बसेको विपक्षी दलहरूको बैठक सम्पन्न भएको छ। बैठकमा भिजिट भिसा प्रकरणबारे छानबिन समिति गठन गर्न सरकारले स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने निष्कर्ष निकालिएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा सम्पन्न बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी लगायतका नेताहरू सहभागी थिए।
नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरका अनुसार, भिजिट भिसा सम्बन्धी विवादको निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको विषयमा सरकारबाट स्पष्ट प्रतिबद्धता आवश्यक रहेको विपक्षी दलको धारणा रहेको छ। बैठकमा यो विषयमा थप छलफल आवश्यक रहेको निष्कर्ष पनि निकालिएको छ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि तय भए पनि त्यसअघि नै बस्ने भनिएको विपक्षी दलहरूको बैठक केही ढिलो गरी सुरु भएको थियो। हालसम्म पनि संसद् बैठक सुचारु हुन सकेको छैन।
भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले सरकारको स्पष्ट जवाफ माग्दै आएका छन्। प्रारम्भमा गृहमन्त्री रमेश लेखकको राजीनामासमेत माग गरिए पनि हाल विपक्षीहरू सरकारले छानबिन समिति गठन गर्ने प्रतिबद्धता जनाए संसद् सञ्चालनमा सहयोग गर्ने अवस्थामा पुगेका छन्।
तर सत्तापक्षको धारणा अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको अवस्थामा सरकारले छुट्टै समिति गठन गर्ने आवश्यकता नरहेको बताएको छ।
सत्तापक्ष र विपक्षी दलबीच अनौपचारिक संवाद जारी रहेको र औपचारिक सहमतिका लागि थप संवाद आवश्यक देखिएको छ।